


दमौली, ९ साउन । तनहुँ जिल्लामा पछिल्लो २४ घण्टामा भएका तीन वटा सवारी दुर्घटनामा १० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साउन ८ गते बिहान ६ बजेदेखि साउन ९ गते बिहान ६ बजेसम्म मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत पृथ्वी राजमार्गमा दुई वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था मध्यम र ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। हाल ३ जना उपचाररत छन्। दुर्घटनामा एक हाईस र एक मोटरसाइकलमा क्षति पुगेको छ।
यस्तै, भित्री सडकअन्तर्गत भानु नगरपालिका–५ पञ्चनगरमा भएको अर्को मोटरसाइकल दुर्घटनामा एक जना घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा समेत क्षति पुगेको छ।