तनहुँ/असार २८ गते आएको बाढी पहिराका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न तनहुँको शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधि घर–घरमै पुग्न थालेका छन् । भीषण वर्षापछि आएको बाढी पहिराका कारण नगरपालिकाका १२ वटै वडामा क्षति भएकाले त्यसको यकिन तथ्याङ्क सङ्कलन गर्नका लागि जनप्रतिनिधिले अनुगमन शुरु गरेका हुन् ।
बाढी पहिराका कारण शुक्लागण्डकीका घर, सामुदायिक भवन, सडक, पुल, कुलो, मठमन्दिर, खानेपानी पाइप, विजुलीको पोल लगायतका भौतिक संरचनामा क्षति पु¥याएको छ । बाढी पहिराबाट पुगेको क्षतिको निरीक्षण गर्नका लागि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले शुक्रबारदेखि अनुगमन शुरु गरेको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो । पहिलो दिन नगरप्रमुख किसान गुरुङ नेतृत्वको टोलीले वडा नं २, उपप्रमुख सविता रसाइलीको टोलीले वडा नं ८ र ९, प्रवक्ता खिमबहादुर कुमालको टोलीले वडा नं ५ र प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको टोलीले वडा नं ३, ६ र ७ का विभिन्न स्थानमा पुगेर निरीक्षण गरेको छ ।
उक्त टोलीमा सम्बन्धित वडाका प्राविधिक समेत रहेका छन् । प्राविपधकले क्षतिको तत्कालै लागत अनुमान निकाल्ने प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “क्षतिग्रस्त संरचनाको तथ्याङ्क लिने र पीडामा रहेका नागरिकलाई सान्त्वना दिने गरेका छौ ।” तथ्याङ्क सङ्कलन पश्चात् घर भत्किएकालाई पहिलो प्राथमिकता दिएर व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो, “घर भत्किएकालाई तत्कालै व्यवस्थापन गर्नेछौ । त्यसपछि उच्च जोखिममा रहेकालाई स्थानान्तरण गर्ने र पहिराले अवरुद्ध मुख्य सडकहरु खुलाउने लगायतका काम गरिनेछ,” सुवेदीले भन्नुभयो ।