तनहुँ/तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले कागती खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न अनुदान दिने भएको छ । वडालाई कागतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक रुपमा कागती गर्ने कृषकलाई प्रति बिरुवा रु एक सय अनुदान दिने नीति अवलम्बन गरिएको छ ।
“कागती खेती गरौं, आत्मनिर्भर बनौ” अभियान सहित वडालाई कागतीमा आत्मनिर्भर बनाउन कृषकलाई अनुदानको व्यवस्था गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार व्यावसायिक रुपमा कागती खेती गर्ने कृषकलाई तीन वर्षसम्म प्रति बिरुवा रु एक सयका दरले अनुदान दिइनेछ ।
सोही बमोजिम वडा कार्यालयले कृषकलाई कागतीको बिरुवा निःशुल्क वितरण शुरु गरेको छ । चालु आर्थिक वर्षमा पाँच हजार बिरुवा वितरण गर्ने लक्ष्य लिइएको वडाध्यक्ष गुरुङले बताउनुभयो । “एउटा कृषकले कम्तिमा २५ वटा बिरुवा लगाए प्रति बिरुवा रु एक सयका दरले तीनवर्षसम्म अनुदान दिने व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुभयो, “यसले कृषकलाई कागती खेती गर्न प्रोत्साहन हुने र वडा कागतीमा आत्मनिर्भर बन्न सहयोग पुग्नेछ ।”
अनुदान प्राप्त गर्नका लागि कागती खेती गर्ने कृषकको रुपमा वडा कार्यालयमा सूचीकृत भएको हुनुपर्ने, व्यावसायिक कागती खेती सम्बन्धी तालीममा सहभागी भई ज्ञान आर्जन गरेको हुनुपर्ने र यो कार्यक्रममा सहभागी हुन कम्तिमा २५ वटा बिरुवा रोपेको हुनुपर्ने मापदण्ड बनाइएको छ । “यो नीतिले परम्परागत रुपमा कागती खेती गरिरहेका कृषक पनि व्यावसायिक रुपमा खेती गर्न आकर्षित हुने विश्वास गरेका छौ,” वडाध्यक्ष गुरुङले भन्नुभयो, “जसले गर्दा वडालाई कागतीमा आत्मनिर्भर बनाउन सक्छौ ।”
कृषकले गरेको खेतीको अनुगमनपछि मात्रै अनुदान दिने व्यवस्था मिलाइनेछ । जसअनुसार दुई चरणमा अनुगमन गरिनेछ । पहिलो चरण साउन÷भदौमा गरिने अनुगमनमा गोडमेल तथा झाडी फँडानी भए÷नभएको हेरिने तथा दोस्रो चरण चैत÷वैशाखमा गरिने अनुगमनमा बिरुवामा मल, माटो हाले÷नहालेको तथा हेरचाहको अवस्था हेरिनेछ । अनुगमन पश्चात् मात्रै कृषकलाई प्रति बिरुवा रु एक सयका दरले भुक्तानी गरिने वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रकृया तीन वर्षसम्म निरन्तर चल्नेछ ।
कृषकले बिरुवा रोप्ने सङ्ख्या पहिल्यै कबुल गर्नुपर्ने र कबुल गरे बमोजिमको बिरुवा रोपेको नपाइए अनुदान दिइनेछैन । वडा कार्यालयले गत वर्षदेखि यो कार्यक्रम सञ्चालन गरेको थियो । गत वर्ष एक हजार भन्दा बढी कागतीका बिरुवा रोपिएको थियो । यस वर्ष पाँच हजार कागतीका बिरुवा रोप्ने लक्ष्य लिइएको छ । वडाध्यक्ष गुरुङका अनुसार कागती खेती गर्नका लागि शुरुमा कृषकलाई पचास प्रतिशत अनुदानको व्यवस्था समेत गरिएको छ ।
समुन्द्र सतहबाट एक हजार दुई सय पचास मिटर उचाईमा अवस्थित यस ठाउँ कागती खेतीका लागि उपयुक्त रहेको छ । “गाउँका बारी बाँझै रहने क्रम रोक्न पनि यो नीति लिएका छौ, कार्यक्रमबाट कृषक पनि उत्साहित भएको पाएका छौ,” उहाँले भन्नुभयो । “उद्यमी युवा, समृद्ध फिरफिरे” भन्ने मूल नारा सहित वडा कार्यालयले बाख्रापालनमा समेत कृषकलाई सहयोग गर्दै आएको छ । पशुपालनमा उत्कृष्ट काम गर्ने कृषकलाई वडा कार्यालयले गत वर्ष नगद सहित सम्मान गरेको थियो ।