प्रदेश सरकारद्वारा दमौली अस्पताललाई रु एक करोड ४३ लाख बजेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    प्रदेश सरकारद्वारा दमौली अस्पताललाई रु एक करोड ४३ लाख बजेट

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०७७, शनिबार

    तनहुँ/गण्डकी प्रदेश सरकारले तनहुँको सदरमुकामस्थित दमौली अस्पताललाई रु एक करोड ४३ लाख ६४ हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७७÷७८ का लागि अस्पताललाई उक्त बजेट विनियोजन गरेको हो ।

    अस्पताल सुृदढीकरण, आँखा सेवा, डायलासिस सेवा, एम्बुलेन्स खरिद, औषधि खरिद लगायतका शीर्षकमा प्रदेश सरकारले बजेट विनियोजन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विपद् पूर्वतयारी सम्बन्धी कार्यक्रमका लागि रु एक लाख ५० हजार, एनसियु एनआइसियु सेवा निरन्तरताका लागि रु दश लाख दुई हजार, डायलासिस सेवा सञ्चालन तथा निरन्तरताका लागि रु दश लाख दुई हजार, नसर्ने रोग (क्यान्सर, मुटुरोग, मिर्गौला, दीर्घश्वासप्रश्वास रोग) तथा मानसिक स्वास्थ्य क्लिनिक कार्यक्रम सञ्चालन तथा निरन्तरताका लागि रु नौ लाख, अस्पताल सुृदृढीकरण कार्यक्रम, वृहत आकस्मिक प्रसुती तथा नवशिशु स्याहार सेवा सुदृढीकरणका लागि रु ३४ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

    आँखा सेवा कार्यक्रम सञ्चालनका लागि अल्थाल्मिक असिस्टेण्ट र नेत्र सहयोगी सेवा करारका लागि रु सात लाख ६० हजार, बिरामीका लागि खाद्यान्न एवं सुत्केरी भत्ताका लागि रु दश लाख, आधारभूत एवं अत्यावश्यक औषधि खरिदका लागि रु पाँच लाख, एम्बुलेन्स खरिदका लागि रु १२ लाख विनियोजन भएको छ । त्यस्तै पन्ध्र शैय्याको अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्नका लागि जग्गा प्राप्ति र विस्तृत आयोजना प्रतिवेदन तयार गर्नका लागि रु ३५ लाख बजेट विनियोजन भएको छ । जग्गा अभावकै कारण अस्पतालको स्तरोन्नति हुन सकेको छैन । हाल १५ शैय्यामा सञ्चालित अस्पताललाई ५० शैय्याको अस्पतालमा स्तरोन्नति गर्न कम्तिमा ३५ देखि ८० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्ने देखिएको छ । अहिले दमौली अस्पताल १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । तनहुँका साथै कास्कीको पूर्व र लमजुङको पश्चिम क्षेत्रका सर्वसाधारणलाई सेवा प्रवाह गर्दै आइरहेको अस्पताललाई थप सुविधासम्पन्न बनाउन स्तरोन्नति आवश्यक रहेको अधिकारीले जानकारी दिनुभयो ।

    दैनिक एक सय भन्दा बढि बिरामी अस्पतालमा स्वास्थ्य उपचारका लागि आउने गरेका छन् । हाल दमौली अस्पतालमा सरकारी दरवन्दीमा तीन डाक्टर छन् । त्यसमध्ये एक जना मेडिकल सुपरिटेन्डेट हुन् । साथै करारमा समेत गरि ८ डाक्टरले सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेका छन् ।