बन्दीपुरमा १४ घर विस्थापित, शाखा मार्ग ध्वस्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    बन्दीपुरमा १४ घर विस्थापित, शाखा मार्ग ध्वस्त

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७७, बुधबार

    तनहुँ/केही दिनदेखि निरन्तर परेको वर्षाका कारण तनहुँको बन्दीपुर गाउँपालिकामा १४ घरपरिवार विस्थापित भएका छन् । वर्षाका कारण घर पूर्ण क्षति भएपछि १४ घरपरिवार विस्थापित भएका हुन् ।

    बन्दीपुर गाउँपालिका–१ का चार, वडा नं ४ का चार, वडा नं ५ का दुई र वडा नं ६ का चार घर पूर्ण रुपमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विस्थापित भएका सर्वसाधारणले छिमेकी, आफन्तजन र आमा समूहको भवनमा आश्रय लिएका छन् । “मङ्गलबार साँझसम्म १४ घर पूर्ण रुपमा क्षति भएको जानकारी प्राप्त भएको छ, सबै वडा कार्यालय मार्फत् क्षतिको विवरण सङ्कलन गरिरहेका छौ,” थापाले भन्नुभयो ।

    वर्षाका कारण बन्दीपुर गाउँपालिकाका सबै शाखा मार्गहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् भने थुपै्र घरहरु जोखिममा रहेको थापाले जानकारी दिनुभयो । “यहाँका बाटाघाटा ध्वस्त भएका छन्, शेराटार, धरमपानी जाने बाटो त अत्यन्तै नराम्रोसँग बिग्रिएको छ,” थापाले भन्नुभयो, “शाखा मार्गहरुको हालत पनि उस्तै छ ।”

    साथै डुम्रेदेखि बन्दीपुर जाने मार्ग पनि ठाउँ–ठाउँमा गएको पहिराले बन्द भएको छ । बन्द भएका मार्गहरु खुलाउन केही दिन लाग्ने देखिएको थापाले जानकारी दिनुभयो । “पृथ्वीराजमार्ग अन्तर्गत गाउँपालिकाको विमलनगर, याम्पा, पिप्लेमा पहिरो पन्छ्याउन समय लागेकाले बन्दीपुर जाने मार्ग खुलाउन डोजर उपलब्ध हुन सकेन,” थापाले भन्नुभयो । मङ्गलबार बिहान खसेको पहिराले बन्दीपुर गाउँपालिकास्थित विमलनगरमा दुई, याम्पामा दुई र पिप्लेमा एक ठाउँमा बाटो अवरुद्ध भएको थियो । वर्षाका कारण नाहाला खोला बढेर खेतबारी बगरमा परिणत भएको छ ।