घर क्षति भएकालाई गाउँपालिकाको राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घर क्षति भएकालाई गाउँपालिकाको राहत

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१
    • बाढीले बगर भएका खेतलाई समेत क्षतिपूर्ति दिइने

    तनहुँ/तनहुँको बन्दीपुर गाउँपालिकाले बाढीपहिराबाट घर क्षति भएकालाई राहत दिने भएको छ । केही दिनदेखि परेको वर्षापछि आएको बाढी र पहिराले पूर्ण र आंशिक रुपमा घर क्षति भएकालाई गाउँपालिकाले राहत दिने निर्णय गरेको हो ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले पूर्ण रुपमा घर क्षति भएकालाई प्रति घर रु ३० हजार र आंशिक घर क्षति भएकालाई प्रति घर रु १० हजारका दरले राहत दिइने जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष थापाका अनुसार बाढीले खेत बगर भएका किसानलाई प्रति रोपनी रु दुई हजारका दरले राहत दिइनेछ ।

    “पहिराले घर पूर्ण रुपमा क्षति भएर २० घरपरिवार विस्थापित भएको प्रारम्भिक तथ्याङ्क सङ्कलन भएको छ, पूर्ण तथ्याङ्क आइसकेको छैन,” थापाले भन्नुभयो, “प्रत्येक वडा कार्यालय मार्फत् तथ्याङ्क लिने काम भइरहेको छ ।” थापाका अनुसार २० घर आंशिक रुपमा क्षति भएको छ । पहिराबाट विस्थापित भएकाहरु छिमेकी र सामुदायिक भवनमा आश्रय लिएर बसिरहेका छन् ।

    बाढीले बन्दीपुर गाउँपालिकाभित्रका धेरै खेतहरु बगर भएका छन् । बगर भएका खेतहरुको अनुगमन गरी क्षति भएका किसानलाई राहत स्वरुप क्षतिपूर्ति दिइनेछ । “खेतमै पुगेर कति भएको छ, त्यसको निरीक्षण गर्छौ, त्यसपछि कृषकलाई प्रति रोपनी रु दुई हजारका दरले राहत रकम दिन्छौ,” थापाले भन्नुभयो ।

    वर्षाका कारण बन्दीपुर गाउँपालिकाका सबै शाखा मार्गहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् । “यहाँका बाटाघाटा ध्वस्त भएका छन्, शेराटार, धरमपानी जाने बाटो त अत्यन्तै नराम्रोसँग बिग्रिएको छ,” थापाले भन्नुभयो, “शाखा मार्गहरुको हालत पनि उस्तै छ ।”