पाेखरा/ गण्डकी प्रदेशका विभिन्न जिल्लामा शुक्रबार भएका घटनामा तीन जनाकाे मृत्यु भएकाे छ । एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । स्याङ्जामा एक, कास्कीमा एक र गाेरखामा एक गरी तीन जनाकाे छुट्टाछुट्टै घटनामा ज्यान गएकाे हाे ।
स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका-१ ठाटी भङज्याङ् स्थित भित्री कच्ची सडकखण्डमा लु ३ त ४२०१ नं को ट्याक्टरकाे ठक्करबाट साेही ठाउँ बस्ने ७६ वर्षीया कृष्ण रेग्मीकाे निधन भएकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराका प्रहरी नायब उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयाे ।
त्यस्तै कास्कीकाे पाेखरा महानगरपालिका-१२ ढिकालेथरका ८० वर्षीय तेजबहादुर गुरुङ साेही ठाउँ नजिक मृत अवस्थामा फेला परेका छन् । घरमा कसैलाई नभनी हिँडेका गुरुङ पाेखरा महानगरपालिका-१३ दुइकुलाकाे मुहानमा मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । घर भन्दा दुई सय मिटर उत्तरतर्फ रहेकाे सेती नदी किनारकाे नहर छेउमा गुरुङकाे चस्मा, चप्पल र फाेटाे फेला परेकाे थियाे ।
यस्तै गाेरखा शहीद लखन गाउँपालिका-३ हटिया बस्ने ७२ वर्षीया कृष्णकुमारी आले घरभन्दा दुई किमि पर खेतकाे बारीमा मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । यसैगरी गाेरखा चुमनुब्री गाउँपालिका-३ सानाे फिलिम र फिलिमकाे बीचमा रहेकाे तिसेङ खाेलाले बगाएर साेही ठाउँका ७६ वर्षीय कान्छा गुरुङ बेपत्ता भएका छन् । अस्थायी गाेठ बनाई बसेका गुरुङलाई खाेलामा एक्कासी आएकाे बाढीले बगाएकाे र उनकाे खाेजीकार्य भइरहेकाे छ ।
यस्तै पाेखरा महानगरपालिका-८ जाल्पा राेडमा सिर्जनाचाेकबाट पृथ्वीचाेकतर्फ जाँदै गरेकाे लु २५ प ५१८१ नं काे माेटरसाइकल आफै अनियन्त्रित भई लड्दा माेटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेमा रुपन्देही घर भई हाल पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने अन्दाजी वर्ष ५० को देवानन्द भट्टराई र निजकी श्रीमती ४७ वर्षीया कल्पना भट्टराई रहेका छन् । घाइतेद्वयकाे गण्डकी मेडिकल कलेज पाेखरामा उपचार भइरहेकाे छ ।