पाेखरा । पोखरा महानगरपालिकाले नगरभित्र उत्पादन हुने फोहोरलाई घर/घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ‘छुट्याऔं फोहोर, बनाऔं मोहर भन्ने नारासहित पहिलो चरणमा १० वटा वडामा यो अभियान सञ्चालन गर्ने तयारी महानगरपालिकाले गरेको हो । पहिलो चरणमा वडा नम्बर १,५,८,१०,१३,१६,१७,१९,२६ र २७ मा अभियान सञ्चालन गरिने भएको हो ।
अभियान सञ्चालन गर्न पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्रलाई समेटेर १ सय ४८ सदस्यीय मुल समिति गठन गरिएको छ । मुल समितिको बिहीबार भएको बैठकमा अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेम सुझाव समेत सङ्कलन गरिएको छ ।
बैठक तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले घरमा उत्पादन हुने फोहोरलाई ३ प्रकारले वर्गीकरण गरी संकलन गरेर व्यवस्थापनमा अभिप्रेरित गर्ने अभियानको उद्देश्य रहेको बताउनुभयाे। उहाँले घरमा उत्पादित फोहोर मध्ये कुहिने फोहोरलाई कम्पोस्ट मल तथा इनर्जी निकाल्न प्रेरित गर्दै कौशी खेती वा करेसाबारीमा सदुपयोग गर्न अभियानले सघाउने बताउनुभयाे । पुन प्रयोग हुने फोहोरलाई बिक्री गरी आन्दानी गर्ने र फाल्नै पर्ने फोहोरलाई छुट्टै संकलन गरी महानगरले व्यवस्था गरे अनुसार विर्सजन गर्न अभियानले प्रोत्साहन गर्ने बताउनुभयाे ।