गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई सवारी साधन हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई सवारी साधन हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०७७, आईतवार

    पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई सवारीसाधन सहयोग गरेको छ । प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि उपलब्ध गराईएका सवारी साधनहरु गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई आइतबार एक समारोहका बिच चाबी हस्तान्तरण गर्नुभएको छ ।

    प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई चुष्तदुरुष्त एवं प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान हुनुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभुती गराउन गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई टाटा पिकअप भ्यान ४ थान र २८ थान मोटरसाईकल (पल्सर १८, TVS अपाचे ५ र बुलेट ५ थान) हस्तान्तरण गरिएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा गण्डकी प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यलयहरुबाट उल्लेखनीय कार्य भईरहेको बताउँदै हस्तान्तरण गरिएका सवारी साधनहरुले प्रहरी काम कारवाहीमा चुष्तता प्रदान गर्ने र प्रहरी कर्मचारीहरुको मनोबल समेत बृद्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

    साथै कुनै पनि सरकार सफल हुनका लागि उसका संयन्त्रहरु स्रोतसाधनयुक्त एवं दक्षतापूर्ण हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै देशका कुना कन्दराहरुमा समेत अग्र पंक्तिमा रहि सरकारको प्रतिनिधित्व गर्ने प्रहरी संगठनको सामरिक विकास आफ्नो प्राथमिकतामा रहेको बताउँदै आगामी दिनमा समेत आवश्यक सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको बताउनुभयो ।

    गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरि बहादुर चुमानले प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउन स्रोतसाधनको अपरिहार्यता उल्लेख गर्नुहुँदै प्रदेश सरकार आफ्नो स्थापनाकाल देखि नै प्रहरी ईकाइहरुलाई स्तरबृद्धि गरी साधनस्रोतले मजबुद बनाउन दृढ रहेको बताउँनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले  कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ लगायत गण्डकी प्रदेश सरकार प्रति नै आभार व्यक्त गर्दै हस्तान्तरीत सवारी साधनहरुले गण्डकी प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्तो संवेदनशिल जिम्मेवारी वहन गर्दै पारदर्शीता, जवाफदेहिता र व्यावसायिक निष्ठापूर्वक कार्य सम्पादन गर्ने जस्ता प्रहरी कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।