मेरै पार्टीका नेताले कोरोना सङ्क्रमणलाई गम्भीर रुपले लिएनन् : प्रधानमन्त्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मेरै पार्टीका नेताले कोरोना सङ्क्रमणलाई गम्भीर रुपले लिएनन् : प्रधानमन्त्री

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०७७, मंगलवार

    प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गर्नुभएकाे हाे ।

    उहाँले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवार्ह, जनताप्रति उदासिन हुने र स्वार्थका पछाडि कुदेको टिप्पणी गर्नुभयाे । सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रिय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गर्नुभएकाे हाे ।

    “केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्र जिम्मेवारपन देखिन्छ। यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ”, बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘सरकारले २५ जनाभन्दा बढी भेला नहुन नभेको छ। तर, मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन्, कहाँ बस्ने हो? के गर्ने हो? त्यस्तो सोच केही पनि छैन। तर, बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ। स्थायी कमिटी अहिले नै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो त्यसबाहेक केही छैन।’

    विज्ञहरुले समेत सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गर्नुभयाे । कोरोना संक्रमण नियन्त्रणदेखि लिएर बाढी पहिरो पीडितको उद्धारका काममा अधिकारीहरु खटिरहेका उल्लेख गर्दै उहाँले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गर्नुभयाे ।