२३ दिनपछि आयो खानेपानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    २३ दिनपछि आयो खानेपानी

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७७, बुधबार

    तनहुँ । गत असार २९ गतेको पहिरोले खानेपानीको पाइप क्षति पुगेपछि अवरुद्ध भएको दमौलीको खानेपानी २३ दिनपछि पूर्ण रुपमा सुचारु भएको छ । व्यास नगरपालिका–४ स्थित बैरेनीमार्गमा पहिरोले पाइप क्षति पुगेपछि दमौलीमा खानेपानीको हाहाकार भएको थियो ।

    पहिरोले डिआइ पाइप बगाएको ठाउँमा ढलान गरिएपछि मङ्गलबार साँझबाट खानेपानी वितरण गरिएको दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका व्यवस्थापक अमर गिरीले जानकारी दिनुभयो । “पहिरोले ४२ इन्चको डिआइ पाइपमा क्षति पुगेको थियो, उक्त स्थानमा गाह्रो लगाएर ढलान गरेपश्चात् खानेपानी सुचारु भएको छ,” उहाँले भन्नुभयो, “मङ्गलबार साँझबाटै पानी छाड्यौ, बुधबार बिहानबाट पूर्ण रुपमा खानेपानी वितरण भएको छ ।”

    पहिरोले पाइपमा क्षति पुगेपछि समितिले दैनिक बिहान केही समय मात्रै पानी वितरण गर्दै आएको थियो । सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका–२, ३ र ४ मा समितिले खानेपानी वितरण गर्दै आएको छ । “तीन वडामा दैनिक ३० लाख लिटर खानेपानीको आपूर्ति भइरहेको थियो, पहिरोले पाइप क्षति पुगेपछि भने दैनिक १० लाख लिटर मात्रै पानी वितरण गरेका थियौ,” उहाँले भन्नुभयो, “अब समस्या आएन भने दैनिक ३० लाख लिटर नै पानी वितरण हुनेछ ।”

    पहिरोले पुगेको क्षतिको मर्मतका लागि करीब रु १३ लाख खर्च भएको अनुमान छ । “सबै बिलहरु सङ्कलनको क्रममा नै छ, तर रु १२÷१३ लाख खर्च भएको अनुमान गरिएको छ,” गिरीले भन्नुभयो । समितिमा तीन हजार चार सय ५० घरधुरी उपभोक्ता छन् । २३ दिनसम्म खानेपानी पर्याप्त नआउँदा दमौलीवासीलाई समस्या हुँदै आएको थियो ।