भदाै १ गतेदेखि लामो दूरीको यातायात र हवाई उडान खुल्ला त ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भदाै १ गतेदेखि लामो दूरीको यातायात र हवाई उडान खुल्ला त ?

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७७, आईतवार

    काठमाडाै । कोभिड १९ सङ्कट व्यवस्थापन सेन्टर (सिसिएमसी)ले भदौ एक गतेदेखि खोल्ने भनिएको अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले कम्तिमा १५ दिनका लागि लामो दूरीको गाडी र हवाई उडान नखोल्ने निर्णय गरेको सिसिएमसीले जनाएको छ ।

    कोरोना भाइरसको जोखिम थप बढेको भन्दै सिसिएमसीले यस्तो निर्णय गरेको हो । सिसिएमसीको निर्णय मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि लागू हुनेछ । यसअघि साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको यातायात र हवाई उडान सुरु गर्ने निर्णय गरेको थियो ।

    अब विद्यालय भर्ना लगायतका शैक्षिक गतिविधि पनि तत्काल नखुल्ने भएको समितिका एक सदस्यले जानकारी दिनुभयाे । सिसिएमसीले बैङ्क तथा वित्तीय संस्थामा ५० प्रतिशत कर्मचारीबाट काम चलाउन र बाँकीलाई १५/१५ दिनमा आलोपालो गर्नका लागि पनि सिफारिस गरेको छ ।

    बैठकले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा थप कडाइ गर्न र भारतबाट आवात जावत हुने विन्दु जम्मा १० वटा तोक्नका लागि पनि सिफारिस गरेको मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईँले जानकारी दिनुभयाे । बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेरमात्र निस्किनका लागि आग्रह गरेको गुरागाईँले बताउनुभयाे ।

    काठमाडौं उपत्यकामा सार्वजनिक गाडी केहीदिन बन्द गर्ने विषय पनि साेमबार बस्ने मन्त्रिपरिषद् बैठकले टुङ्गाे लगाउनेछ ।