तनहुँ । तनहुँको भीमाद नगरपालिका–६ जलौदी निवासी पहिरो पीडित चन्द्रबहादुर कुमाललाई नेपाल कुमाल समाज सुधार जिल्ला कार्यसमिति तनहुँले सहयोग गरेको छ । केही समय अगाडीको पहिरोले घर भत्किएर समस्यामा पर्नुभएका कुमाललाई नेपाल कुमाल समाज सुधार समितिका अध्यक्ष आलोक कुमालले नगद तथा जिन्सी गरी रु ३० हजार बराबरको सहयोग हस्तान्तरण गर्नुभएको छ ।
केही समय अगाडी आएको पहिरोले कुमालको घर पूर्ण रुपमा नष्ट बनाएको छ । उहाँका पाँच परिवार हाल भत्केको घरको टिनलाई नै ओढ्ने ओछ्याउने बनाएर बसिरहेका छन् ।
विपद्मा परेका समाजका सदस्यहरुको तथ्याङ्क सङ्कलन गर्ने क्रममा चन्द्रबहादुरको अवस्था नाजुक पाइएपछि सहयोग गरिएको जिल्ला अध्यक्ष कुमालले जानकारी दिनुभयो । तनहुँ जिल्लाभित्र रहेका विभिन्न ठाउँहरुको कुमाल समुदायसँग सहयोग अनुरोध गरेर प्राप्त भएको उक्त रकम पीडितलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार कुमाल समुदायको दुःखमा समाज छ भन्ने अनुभूति दिनका लागि जिल्लाभरिका कुमाल समुदायलाई सहभागी गराई पहिलो चरणको कार्यक्रम सम्पन्न गरिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल कुमाल समाज सुधार समिति जिल्ला कार्य समितिका सचिव मार्टिना कुमाल, सह–सचिव रिता कुमाल, जिल्ला सदस्यहरु देवीमाया कुमाल, पुर्ण बहादुर कुमाल, घनश्याम कुमाल, धन बहादुर कुमाल, सीता कुमाल, मन्जु कुमाल सहभागी हुनुहुन्थ्यो ।