भरतपुर अस्पतालका मेसुसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    भरतपुर अस्पतालका मेसुसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७७, आईतवार

    चितवन । फ्रन्टलाइनमा बसेर काम गरिरहेका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार राति गरिएको कोरोना परीक्षणमा डा. तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयाे ।

    अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालकै आकस्मिक कक्षमा काम गर्ने अर्का एक जना नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि सोही कक्षमा काम गर्ने नर्सलाई संक्रमण भएको थियो ।

    संक्रमित डा. तिवारी अस्पतालकै आइसोलेसन वार्डमा बस्नुभएकाे छ । यस्तै, अस्पतालका प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल पनि अस्पतालकै क्याविनमा बस्न आउँदै गरेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयाे । प्रा.डा. पोखरेललाई भने हल्का ज्वरो र सामान्य खोकी लागिरहेको छ ।

    डा. पोखरेललाई संक्रमण पुष्टि भएपछि प्रसूति विभागको टिमसमेत आइसोलेसनमा जानुपर्ने हुँदा प्रसूति गराउने महिलाहरुलाई समस्या हुने देखिएको छ । डाक्टरहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्क ट्रेसिङ गर्ने जनाइएको छ ।

    चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अस्पतालकै सिनियर चिकित्सकले अब अस्पतालको दैनिक प्रशासनिक कार्य गर्ने बताउनुभयाे ।