तनहुँ । तनहुँको शुुक्लागण्डकी नगरपालिकाले नगरक्षेत्रभित्र बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै पसल खोल्न दिने निर्णय गरेको छ । कोभिड–१९ को जोखिम बढेपछि नगरपालिकाले सोमबार सूचना जारी गरेर भौतिक दूरी अनिवार्य कायम गरेर उक्त समयमा व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको जनाएको हो । बजार सञ्चालन गर्दा सम्बन्धित व्यवसायी र सेवाग्राहीले मास्क लगाउनुपर्ने नगरप्रमुख किसान गुरुङले जानकारी दिनुभयो ।
नगरपालिकाले फुटपाथ, खुल्ला ठाउँ र ठेला वा साइकलमा सञ्चालन भइरहेका तरकारी, खाद्यान्न, फलफूल लगायतका खुद्रा व्यापार र व्यवसायजन्य कार्य बन्द गरेको छ । साथै नगरपालिकाभित्र अत्यावश्यक सेवा तथा खाद्यान्न ढुवानी बाहेकका अन्य सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको गुरुङले जानकारी दिनुभयो ।