तनहुँकाे सम्भावित जोखिमबारे तत्काल चाल्ने कदमहरु सम्बन्धमा प्रजिअ र नगर प्रमुखलाई अनुरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    तनहुँकाे सम्भावित जोखिमबारे तत्काल चाल्ने कदमहरु सम्बन्धमा प्रजिअ र नगर प्रमुखलाई अनुरोध

    रविन पाैडेल

    २ भाद्र २०७७, मंगलवार

    हालै मात्रै एउटा दुखद समाचार हामीले सुन्नुपर्यो । व्यास नगरपालिका-१ अम्रेनी स्थायी ठेगाना भएकी एक महिलाको पोखरामा उपचारका क्रममा निधन भयो र उनलाई कोभिड पोजिटिभ देखियो । उनको छोरीमा पनि संक्रमण देखिएको समाचार सार्वजनिक भएको छ । सिंगो विश्व सहित नेपाल पनि यो संक्रमणबाट जोगिन प्रयासरत छ तर तनहुँमा पछिल्लो समय समुदायमा देखिएको संक्रमणले यसलाई रोकथाम तथा नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम नचाले स्थिति नियन्त्रण वाहिर जाने स्पष्ट संकेत देखा परेको छ ।

    कोभिड संक्रमणबाट तनहुँमा पहिलो निधनको खवर संगै सोचनीय अर्को विषयको पटाक्षेप भएको छ समाचारका अनुसार । समाचारमा जनाइए अनुसार निधन भएकी महिला साता दिन अघि माइती गएर आएको भनिएको छ । समुदायमा संक्रमणको जोखिमको सम्भावना देखिएर करिव बन्द गरिएको भानुको क्षेत्रमा माइती गएर आएका कारण त्यस क्षेत्रवाट संक्रमण फैलिएको हो भने तत्काल केही विषयमा कडाई गर्नु जरुरी देखिन्छ ।

    आवत जावतसँगै पाहुना नहुन तथा चाड घरमै मनाउन कडाइका साथ अनुरोध

    हामीसँग कोभिड संक्रमितका लागि अलग्गै अस्थायी अस्पताल छैन अन्यत्र पनि कोभिड संक्रमित अन्य स्वास्थ्य प्रदायक संस्थामा गएको अवस्थामा संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने यस अघि देखि नै भनिंदै आएकोमा अहिले त्यस्को संकेत देखा परेको छ । महिलाहरुको महान चाड तीज र कुशे औँशी अर्थात् वावुको मुख हेर्ने दीन नजिक छ यस्तोमा आवत जावत वढ्ने निश्चित छ तसर्थ नागरिकहरुलाई यस विषम परिस्थिति र भ्रमणका कारण संक्रमण दर भयाभह हुनेतर्फ सचेत गराउँदै अनुरोध गर्नुपर्ने देखिएको छ । भानुको संक्रमण क्षेत्रमा १ जना महिला गएर आएका कारण व्यासको थुप्रै क्षेत्र अहिले जोखिममा परिसकेको छ तसर्थ यो क्रम रोक्न भानु र व्यास नगरपालिका सहित प्रशासनले पनि कडाई गर्नुपर्ने अवस्था टट्कारो देखिएको छ ।

    स्वास्थ्य संस्थाहरुमा उपचारका लागि मापदण्ड निर्धारण

    व्यास नगरपालिकामा मात्रै आजका दिन सम्म ३ स्वास्थ्य संस्था कोभिड संक्रमणका व्यक्तिका उपचार प्रसङ्ग वा उपस्थितिको विषयसँग जोडिए । २ स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीकाे रिपोर्ट नेगेटिभ आयो भने एक मेडिकलका सञ्चालक सहित स्टाफहरु सहित सेल्फ आइसोलसनमा छन् । कोभिड विरामी मात्र हेर्ने अस्थायी रुपमा वा कुनै सामुदायिक भवन खाली गरेर कोभिड डेडिकेडेड अस्पताल सुरुवात तत्काल गर्नुपर्ने देखिएको छ भने अन्य आवश्यक सामाग्रिको प्रवन्ध पनि गर्नुपर्ने देखिएको छ । हाल उपचार भइरहेका स्वास्थ्य संस्थाहरुमा उपचार प्रकृयामा सुरक्षित मापदण्ड लागु गर्ने बारे सुरक्षा प्रोटोकल तय गरी निर्देशन दिन अब ढिलाई गर्नुहुँदैन ।

    स्वाव संकलन तथा कन्ट्याक्ट ट्रेसिङका लागि चुस्त टिमको छनौट

    विगत केही दिन देखि जिल्ला स्थित स्वास्थ्य कार्यालय र व्यास नगरपालिका स्थित स्वास्थ्य इकाइलाई निरन्तर सुचना प्रवाह गरिरहँदा मैले गरेका अनुभवका आधारमा हालको स्वास्थ्य टिममा जनशक्ति थप गर्ने तथा दक्ष जनशक्ति पनि थप गर्नुपर्ने आवश्यकता महशुस गरेको छु ।
    सुचना भनेको अत्यन्त महत्वपुर्ण विषय हो प्रतिकार्य तथा कार्यका लागि तर सुचना ग्रहण गर्ने संयन्त्रको उपलव्धता वा उनीहरुको सुचना माथिको गम्भीर दायित्व अनुभव हुन सकेको छैन । स्वास्थ्य इकाइमा अस्थायी रुपमा भए पनि वरिष्ठ अधिकृत सहितको बलियो र पर्याप्त जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिएको छ । यो समस्या संग स्वास्थ्य इकाइका सिमित कर्मचारीले मात्र जुध्न किमार्थ सम्भावना छैन तसर्थ सुचना संकलन गर्ने छुट्टै इकाई गठन गरी उनीहरुको सम्पर्क सर्वसाधरणमा समेत जानकारी हुने गरी सार्वजनिक गर्नुपर्दछ ता की जो कोहिले सुचना सहि समयमा उपलव्ध गराउन सकुन् । सुचना प्राप्त गरे पछि कन्ट्याक्ट ट्रेसिङ गर्ने पनि एउटा टिम निर्माणको आवश्यकता छ यी दुवै टिममा स्वास्थ्य वाहेकका अन्य कर्मचारी संलग्न टिम बनाउँदा पनि हुन्छ । अहिले सुचना देखि सवै काम स्वास्थ्य इकाइको थाप्लोमा जस्तो देखिएको छ जस्ले गर्दा काम गर्न ढिलाई भएको भान प्रतित हुन्छ ।

    टोल विकास संस्थाहरुलाई पनि आवश्यक निर्देशन सहित समन्वय तथा सहयोग लिनुपर्ने देखिन्छ, यो ठुलो महामारी हो केही कर्मचारीको समुह वा पालिका, प्रशासन मात्रैले गर्ने प्रयास गरिरहँदा भोलि अवस्था विकराल भयो भने ठुलो क्षति व्योहोर्नु पर्ने दृष्टान्त हामीले यस अघि देखिसकेका छौँ तसर्थ समस्त समुदाय नै संलग्न तथा सहभागि भई संक्रमणको दर फैलनबाट रोक्नुनै वढी बुद्धिमता हो भन्ने लाग्छ । अस्तु ।

    rantabish475@gmail.com