‘संस्कृतीलाई सके सपारौँ, सक्दैनौ कसैले पनि बिगार्ने प्रयत्न गर्नहुदैन’
तनहुँ : हिन्दु नारीहरुको सांस्कृतिक पर्व हो हरितालिका तीज । यसैलाई लक्षित गरेर सांगितिक बजारमा सयौँ तीजका गीतहरु आएका छन् । गीतसंगीत पस्कने माध्यम बनेको युट्युबमा छ्यापछ्याप्ती छन् तीजे गीत । कोभिड–१९ का कारण सबै क्षेत्र ठप्प छन् । तर, सांगितिक बजार भने त्यस्तो देखिदैन, चलायमान नै छ । कलाकारहरुको आम्दानीको मुख्य स्रोत देशविदेशमा हुने मेला महोत्सव र सांस्कृतिक कार्यक्रम फागुनदेखि हुन पाएन । आम्दानीको मुख्य स्रोत गुमेर तीजका गीतमा गरिएको लगानी बालुवामा पानी हुने स्थितिमा पनि तीजे गीतका संख्यात्मक कमी खासै देखिएन यस वर्ष । नयाँ पुरानो सबै कलाकारले तीजका गीत ल्याएका छन् ।
यसपाली तीज गीतमा कोरोनाले निम्त्याएको संकट, सलह किराको त्रास, राजनीतिक परिस्थितिका व्यंग्य, नारी वेदना, चेली र माईतीबीचका गन्थनमन्थन जस्ता विषय नआएका पनि होइनन् । तर केही गीत यस्ता आए, जस्ले तीजको मर्म र मौलिकतालाई ठाडै प्रहार गरे । दुई अर्थ लाग्ने उट्पट्याङ शब्दको प्रयोग व्यापक बनेको छ । अझ युट्युबमा दर्शक बटुल्न अपाच्य शीर्षक राखेर सार्वजनिक गर्ने प्रवृति मौलाएको छ ।
दशकयता कलाकारलाई लाग्दै आएको आरोप हो ‘तीज गीतलाई रत्यौली बनाए, मौलिकता हरायो ।’ यसपाली पनि सर्जक, स्रष्टा र कलाकार टाढा रहेनन् यस्ता आरोपबाट । सस्तो लोकप्रियताका लागी बजारमा ल्याईने हल्का तीजका गीत जीवन्त नरहने अग्रजहरु बताउँछन् ।
पछिल्लो समय बजारमा आएका तीज गीतले मौलिकतालाई बिर्सिएर गाईजात्रे बनेकोे बताउनुहुन्छ नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसमेत रहनुभएकी वरिष्ठ लोकगायिका हरिदेवी कोईराला । सस्तो लोकप्रियता कमाउन मौलिकता भुलेर परिवारमा बसेर हेर्न नमिल्ने गाईजात्रे तरिकाले प्रस्तुत हुँदा संस्कृतिलाई ठूलो क्षति पुग्ने उहाँको ठम्याई छ ।‘तीज गीत पर्व गीत हो । यसमा पर्वको मर्म, धर्म र संस्कार हुन्छ । पर्वले खोज्ने मौलिकता र महिमा हुन्छ । हिजो र आजका गीतलाई तुलना गर्दा भोलिको पुस्ताले के सिक्लान् ?’ उहाँलाई यही कुराले पिरोलेको छ ।
दशकयता बजारमा आएका रत्यौली जस्तै सुनिने तीज गीतले माया पिरतीका कुरालाई प्रसय दिएको छ । तर, तीजका गीतले सामाजिक भोगाई र चेतनालार्ई समेट्नुपर्ने कोइराला बताउनुहुन्छ । ‘सासु बुहारीको जुहारी र चेलीको विरह विलौना मात्रै तीज गीतले समावेश गर्नुपर्छ भन्ने होइन । चेलीले राष्ट्रको चेतना, परिर्वतन, भ्रष्टचार, राजनीति जस्ता विषयलाई पनि उठान गर्न सक्छन् । प्रस्तुतिमा भने शिष्टता, शालिनता र समाजलाई मार्गदर्शन गरेको हुनुपर्दछ,’ उहाँले भन्नुभयो ।
लहड र रहरमा सस्तो लोकप्रियता कमाउन तीज गीतलाई हाँस्यास्पद बनाइएको उहाँको गुनासो छ । तीजे गीतमा गरिएको नयाँनयाँ बाजागाजाको प्रयोगप्रति कोइरालाले असहमति जनाउनुभयो । ‘नयाँ प्रयोग गर्न त अन्य विधाका गीतसंगीत छदैँछ । कलाकारको धर्म मौलिकता जोगाउनु हो । तसर्थ संस्कृतिलाई सके सपारौँ, सक्दैनौ कसैले पनि बिगार्ने प्रयत्न गर्नहुदैन । संस्कृतिको संरक्षण सम्र्बद्धन गर्नुपर्दछ,’ उहाँको सुझाव छ । उहाँका विचारमा गीतसंगीतमा व्याप्त विकृति विसंगति न्यूनिकरणमा दर्शक, श्रोता र सञ्चारमाध्यमले भूमिका खेल्न सक्छन ।
नयाँ पुस्ताका कलाकारले बिगारेका तीज गीत गाउँघरमा भने उस्तै मौलिक सुन्न पाईने लोकगायिका कोइरालाको दाबी छ । उहाँले दाबी गर्दै भन्नुभयो, ‘जति रेकर्डमा बिग्रिएको छ, गाउँघरमा हुने प्रतियोगितामा दिदी बहिनीले गाउने तीजका गीत सुनौँ त ! बिग्रिएको छैन विल्कुल । त्यहाँ आफ्नै मौलिक लय र ठेट भाषा सुन्न सकिन्छ, आफ्नै विरह वेदना अनि संस्कार छन् । तर, व्यावसायिक उद्देश्यले गाईएका गीतमा होडबाजी छ विकृतिको ।’
उहाँले गीतसंगीत सुधार्न सेन्सर बोर्डको आवश्यकता औंल्याउनुभयो । ‘पहिला हामीले गीत रेकर्ड गर्दाखेरी अरुसँग शब्द लय जुध्छ की भनेर सोधखोज हुन्थ्यो,’ उहाँले स्मरण गर्दै सुनाउनुभयो, ‘अहिले सेन्सर बोर्ड नहुनाले पनि विकृतिले जरो गाडेको छ, यो दुर्भाग्य हो ।’ कोइरालाले २०४५ सालदेखि निरन्तर तीजका गीत गाउँदै आउनुभएको छ ।
बजारमा छ्यापछ्याप्ती आएको गीतहरू तीजे गीत नै भन्न नसक्ने खालका रहेको लोकगीतका अध्येता समेत रहनुभएका पृथ्वीनारायण क्याम्पस पोखराका प्रा.डा. कुसुमाकर न्यौपाने बताउनुहुन्छ । केही वर्षयता तीजका गीतमा विकृति बढेर मौलिकता गुम्दै गएको उहाँले बताउनुभयो । तीजका गीतमा करुणभाव र भक्तिभावको प्रवलता हुनुपर्ने उहाँको भनाई छ ।
आजभोली तीजका गीत भन्दा बढी रत्यौली गीत बजारमा आउँछन् । ‘किनकी तीजका गीतमा प्रयोग हुने करुणभाव र भक्तिभावका प्रवलताको सट्टा हास्यभाव प्रयोग गरिएका छन्,’ उहाँले भन्नुभयो, ‘तीजे गीतको विस्तार भएको छ, त्यसलाई स्वच्छ ढंगले ल्याईदिएको भए राम्रो हुने थियोे । नत्र भने निफानेर केलाउनपर्ने परिस्थिति सिर्जना भयो, यो पीडादायी कुरा हो ।’
एकातिर तीजका गीतले मौलिकता गुमाएका छन् । अर्कोतर्फ जेठबाटै सांगितिक बजारमा तीजका गीत भन्दै धमाधम सार्वजनिक हुन्छ । न्यौपाने भन्नुहुन्छ, ‘तीजका गीत गाउने अवधि हुन्छ । श्रीकृष्ण जन्माष्टमीदेखि पञ्चमीको दिनसम्म मात्र तीजका गीत गाइन्छ,’ उहाँले भन्नुभयो, ‘जन्माष्टमी नआउँदै महिनौ दिन पहिल्यैबाट र पञ्चमीपछि पनि तीजका गीत सुनिन्छ, यो विकृति हो ।’
तीजका गीतमा व्यापक विकृती भित्रिएको स्वीकार्नुहुन्छ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी । व्यापारीको कब्जामा गीतसंगीत भएकाले मौलिकता गुमेको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘गीतसंगीतमा जब व्यपारीकरण गरेर कमाउने मात्रै ध्येय राखेका स्रष्टाको नाममा व्यपारीको प्रवेश भयो, त्यसपछि मौलिकतामाथि ठूलै प्रहार भएको छ । त्यो वर्षेनी हुँदै आएको छ ।’
तीज गीतको वास्तविक मर्म खोज्नै पर्ने बेला आएको अनुभव गर्नुभएको छ बिजीले । प्रतिष्ठानले यस वर्ष विकृति विसंगति न्यूनीकरण कार्यदल गठन गरेर दुई अर्थी राखेका गीतको शीर्षक परिवर्तन गराएको उहाँले सुनाउनुभयो । सरकारी आधिकारिता प्राप्त नभएकाले कारबाही गर्न नसकेपनि नैतिक दबाब भने प्रतिष्ठानले दिएको उहाँले बताउनुभयो । ‘अटेरी गर्ने कलाकार र सर्जकलाई कालोसूचीमा राखेर प्रतिष्ठानले बहिष्कार गर्ने निर्णय ग¥यौँ,’ उहाँले भन्नुभयो ।
‘तीज गीतलाई प्रयोगशाला बनाईएको छ । नितान्त महिलाहरुको पर्व हो तीज । यहाँ त केटाहरु नै केटीको रुपमा प्रस्तुत भएर रत्यौली जस्तो बनाईयो,’ उहाँ भन्नुहुन्छ, ‘तीजमा वेदना र विरह पोख्नलाई दिदीबहिनीलाई हिजोको जस्तो दुखकष्ट त छैन । समय अनुसार परिवर्तन जरुर हुनुपर्छ । तर, संस्कृति बोक्नेहरुले जहिलेपनि संस्कारको हेक्का राख्नुर्छ ।’
अग्रजहरु नयाँ पुस्ताले विकृति भित्र्याएको आरोप लगाउँछन् । तर, पछिल्लो पुस्ताका कलाकार स्वीकार्न तयार छैनन् । गायिक प्रिती आले भन्नुहुन्छ, ‘तीजको गीतमा विकृति हामीले भन्दा पनि अग्रजहरुले नै ल्याईसक्नु भाथ्यो । मौलिकता नै खोज्दा हिजोका दिनमा दिदीबहिनीले मात्र तीज गीत गाउने चलन थिए । पछि गएर पुरुष दाजुभाईले दोहोरी बनाईदिनुभयो । परिवर्तन हँुदै रत्यौली बन्यो । विकृति भित्र्याउने त अग्रजहरु नै हुनुहन्छ ।’ उहाँले अग्रजप्रति व्यंग गर्दै भन्नुभयो, ‘आप गरे त प्यार, हाम गरे त बलात्कार ।’ पुरानो पुस्ता सच्चिएको भए अहिलेको अवस्था सिर्जना नहुने उहाँको भनाई छ ।
गायिका आले पुस्ता परिर्वतन हुँदै गर्दा गीतसंगीत पनि परिर्वतन भएको बताउनुहुन्छ । विकृति नभएर अहिलेको पुस्ताले नयाँपन दिलाउने प्रयास गरेको बताउँदै उहाँ भन्नुहुन्छ, ‘समाज परिवर्तन र विकाससँगै गीतसंगीत परिवर्तन हुन्छ । त्यसैले नयाँपन स्वीकार्न पर्दछ ।’
पुरुषले गाएर नाच्दैमा तीजका गीतमा विकृति भन्न नमिल्ने गायक तथा मोडल राजु ढकाल बताउनुहुन्छ । तर, पछिल्लो समय पुरुषले गाएका तीज गीतमा हदै विकृति देखिएको महशुस गर्नुभएको छ उहाँले । ‘सबै पुरुषले गाएका गीतले मौलिकता बिर्सिएका छैनन्, सन्देशमूलक पनि छन् । केहीले युट्युब भ्यूअर्स र सस्तो लोकप्रियताका लागि ल्याएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘तीनले आमा दिदीबहिनीले तीजमा कस्तो गीत गाउँथे त्यसलाई मनन गरेर सिर्जना गर्नुपर्छ ।’ कलाकारले आफूले ल्याएका सिर्जनाले समाजलाई पारेको प्रभावबारे विचार पु¥याउनुपर्ने ढकाल बताउनुहुन्छ ।
तस्बिर गुगलबाट