दमौली अस्पतालमा भेन्टिलेटर सहित आइसोलेशन कक्ष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पतालमा भेन्टिलेटर सहित आइसोलेशन कक्ष

    खबरपुञ्ज संवाददाता

    ९ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा भेन्टिलेटर सहितको आइसोलेशन कक्ष निर्माणका लागि सङ्घीय सरकारले रु दुई करोड बजेट विनियोजन गरेको छ । कोभिड–१९ का सङ्क्रमित थपिँदै गएको र जिल्ला अस्पतालमा भेन्टिलेटर सहितको आइसोलेशन कक्ष निर्माण गर्न आवश्यक देखिएपछि सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट रु दुई करोड बजेट विनियोजन गरेको हो ।

    अस्पतालमा चार वटा भेन्टिलेटर सहितको दश शैय्या क्षमताको आइसोलेशन निर्माणका लागि उक्त रकम विनियोजन भएको तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले जानकारी दिनुभयाे ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव बद्रीप्रसाद तिवारीले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको भदौ २ गते बसेको दशौ बैठकबाट उक्त रकम दमौली अस्पताललाई निकासा गरिएको जानकारी दिनुभयो ।

    दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीका अनुसार अस्पताल व्यवस्थापन समितिको तर्फबाट पनि सङ्घीय सरकारलाई यस विषयमा अनुरोध गरिएको थियो । “अस्पताल व्यवस्थापन समितिको अनुरोध र माननीयहरुको पहलमा अस्पतालमा भेन्टिलेटर सहितको आइसोलेशन कक्ष निर्माणका लागि रकम विनियोजन भएको छ,” अधिकारीले भन्नुभयो ।

    अस्पतालमा दश शैय्याको आइसोलेशन कक्ष निर्माणका लागि ठाउँको व्यवस्थापन गर्न सकिने अधिकारीले जानकारी दिनुभयो । अस्पतालमा सघन उपचार कक्ष निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट पनि रु एक करोड ६९ लाख बजेट प्राप्त भएको छ । “दुवै तहको सरकारबाट बजेट आएपछि आवश्यक सामग्री खरिदका लागि पर्याप्त स्रोत जुटेको छ,” उहाँले भन्नुभयो, “छिटो भन्दा छिटो अस्पतालमा यसको व्यवस्थापन गर्न लागिपरेका छौ ।”

    प्रदेश सरकारबाट प्राप्त बजेटबाट सघन उपचार कक्ष निर्माणका लागि आवश्यक सामग्री खरिदका लागि टेण्डर गर्ने अन्तिम तयारी भएको छ । प्रदेश सरकारले पनि पाँच वटा भेन्टिलेटर खरिदका लागि रकम उपलब्ध गराएको छ । अस्पतालले गत वर्ष अक्सिजन प्लाण्ट खरिद गर्न प्रकृया शुरु गरेपनि असारको अन्तिममा मात्रै आएर प्राविधिकले मूल्याङ्न गरिदिएका कारण उक्त काम गर्न सकेको थिएन ।

    कोभिड–१९ का कारण जिल्लाको स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासका लागि अवसर बनेको अधिकारीले बताउनुभयो । “विसं २०५९ सालमा जिल्ला अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पतालमा अहिलेसम्म सघन उपचार कक्ष नरहेकोमा कोभिड–१९ का कारण अस्पतालमा सघन उपचार कक्ष निर्माण हुने निश्चित भएको छ, यसलाई एउटा अवसरका रुपमा लिनुपर्छ,” अधिकारीले भन्नुभयो ।

     जिल्लास्तरीय अस्पतालमा नै सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौ पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भार समेत पर्दै आइरहेको छ । कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि दमौली अस्पतालको पुरानो भवनलाई आइसियु सहितको उपचार केन्द्र बनाउने गरी पूर्वाधार निर्माणमा जुटेको अस्पतालले जनाएको छ ।

    १५ रोपनी १४ आना जग्गामा फैलिएको अस्पताल थप जग्गाको अभावमा स्तरोन्नति हुन सकेको छैन । अस्पताल विकास समितिका अनुसार ५० शैय्याको अस्पताल बनाउन ३५ देखि ८० रोपनी जग्गा आवश्यक पर्दछ । अस्पतालको स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गा गण्डकी प्रदेश सरकारसँग माग गरिएको छ । अस्पतालका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराइदिन जिल्ला सभाले निर्णय गरेपछि बसेको सर्वपक्षीय बैठकले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको केही रोपनी जग्गा दमौली अस्पताललाई उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरिएको हो ।

    जिल्ला सभाले दमौली अस्पतालसँगै जोडिएका कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराइदिन निर्णय गरेको थियो ।

    विसं २०३४ सालमा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो । विसं २०७२ सालमा अस्पतालको आफ्नै सुविधासम्पन्न भवन निर्माण भएको थियो । सोही वर्ष अस्पतालमा डायलोसिस सेवा शुरु गरिएको, विसं २०७३ सालमा मानसिक उपचार केन्द्र स्थापना गरिएको अस्पतालमा विसं २०७४ सालमा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो ।