


दमाैली, १७ मङ्सिर । तनहुँको शुुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित नेपाल पुलिस स्कुलको आयोजनामा बुधबारदेखि यहाँ गण्डकी प्रदेशस्तरीय यु–१६ फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा कास्कीको लेखनाथस्थित नेपाल आदर्श माध्यमिक विद्यालय विजयी भएको छ । तनहुँको दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयलाइ ३–२ गोलले पराजित गर्दै आदर्शले उद्घाटन खेलमा विजयी सुरुआत गरेको छ । निर्धारित समयमा दुवै विद्यालयबाट गोल नभएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
आजै भएको दोस्रो खेलमा म्याग्दे गाउँपालिकास्थित राधा माध्यमिक विद्यालयले शुक्लागण्डकीस्थित सूर्योदय बोर्डिङ स्कुललाई ५–० गोल अन्तरले पराजित गरेको छ ।
विद्यालयस्तरको फुटबल विकासलाई निरन्तरता दिने उद्धेश्यसहित मङ्सिर २१ गतेसम्म आयोजना हुने प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका १६ विद्यालयको सहभागिता रहेको छ । खेलभावना विकास, अनुशासन र नेतृत्व क्षमता वृद्धि, प्रदेशका विद्यार्थीमा खेलकुदप्रतिको रुची बढाउन, उत्कृष्ट खेलाडी पहिचान गर्ने उद्धेश्यसहित प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्राचार्य रामचन्द्र शाहीले जानकारी दिए ।
प्रतियोगितामा विजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद रु चार हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही रु दुई हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।
फुटबल प्रतियोगिताले ग्रामीणदेखि शहरसम्मका प्रतिभाहरूलाई उजागर गर्न सहयोग गर्ने विद्यालयका समादेशक प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए ।
प्रतियोगिताको प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले उद्घाटन गरेका थिए ।
