तनहुँ : युवा नेपाल समिति तनहुँको आयोजनामा बुधबार तनहुँको दुलेगौँडामा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । रेडक्रस सोसाईटी कास्कीले सञ्चालन गरेको रक्त संकलन एम्बुलेन्स बसमा यहाँको विपीचोक, गाछेपानी र कवासेमा भएको रक्तदानमा ८५ युनिट रगत संकलन भएको आयोजक युवा नेपाल समिति तनहुँका अध्यक्ष ऋषेश्वर भुवाई क्रृतुले बताउनुभयो ।
उहॉले निषेधाज्ञाको समयमा कतैपनि रगतको अभाव भएर अभावले सुत्केरी, डायलासिस, शल्यक्रिया गर्नुपर्ने र विभिन्न दुर्घटनामा परेका बिरामीले ज्यानै गुमाउनुपर्ने अवस्था नआओस भनेर सामाजिक सञ्जालमार्फत रक्तदानका लागि आह्वान गरेकामा उल्लेखनिय सहभागिता रहेको जानकारी दिनुभयो ।
भिडियो हेर्नुहोस
दुलेगौँडाका एकनारायण गौतमले ३५ वर्षमा पहिलोपटक त्यही एम्बुलेन्समा रक्तदान गर्नुभयो । कोरोना कहरले बिरामीलाई रगत अभाव भएको सुनेपछि आफू रक्तदानमा सहभागी भएको उहॉले बताउनुभयो । ‘कोरोनाले निम्त्याएको विषम् परिस्थितिमा रगतको अभाव हुनसक्छ । रगत अभावले कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउनु हुँदैन,” उहॉले भन्नुभयो, ‘खेर जाने मेरो रगत दान गर्दा कसैको ज्यान बच्न सक्ने हुँदा सहभागी भए ।”
रक्त संकलन एम्बुलेन्स नेपालमा पहिलो पटक पोखरामा चैत पहिलो साताबाट सञ्चालनमा ल्याएको रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिनुभयो । लकडाउन र निषेधाज्ञाको बेला यो एम्बुलेन्स निकै प्रभावकारी भएको उहॉले बताउनभयो । ‘रक्त एम्बुलेन्स नेपालकै लागि नयाँ प्रविधी हो । पहिला मोबाईल एम्बुलेन्समार्फत रगत संकलन भईरहेको थियो । अहिले दुई चार जनाले रगत दिन चाहे पनि एम्बुलेन्स त्यही पुग्छ । लकडाउन र निषेधाज्ञाको बेलामा पनि रगत संकलन भईरहेकाले देशका अन्य ठाउँमा जस्तो कास्कीमा अभाव छैन्’, उहॉले भन्नुभयो ।
हाल कास्की, तनहुँ र स्याङजा लगायतको जिल्लामा पुगेर एम्बुलेन्सले रगत संकलन गरिरहेको छ । रक्त एम्बुलेन्स कास्की रेडक्रसलाई रोटरी क्लब अफ पोखरा अन्नपूर्ण र कोरिया स्थित आर आई डिस्ट्रिक ३६९०, रोटरी क्लब अफ याङजुले उपलब्ध गराएको हो । एम्बुलेन्सभित्रै रक्तदान गर्न मिल्छ ।