पूर्वाधार, पर्यटन र कृषिमा अपेक्षित उपलब्धी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    पूर्वाधार, पर्यटन र कृषिमा अपेक्षित उपलब्धी

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकाले आर्थिक वर्ष ०७६÷७७ मा पूर्वाधार, पर्यटन र कृषिमा अपेक्षित उपलब्धी भएको जनाएको छ । उक्त आर्थिक वर्षका लागि विनियोजित बजेटबाट गाउँपालिकामा पूर्वाधार, पर्यटन र कृषिमा उल्लेख्य मात्रामा कामहरु सम्पन्न भएको गाउँपालिकाले जनाएको हो ।

          गण्डकी प्रदेश सरकारको गौरवशाली मोटरमार्गका रुपमा बन्चरे पहाड सदियौदेखि ट्रयाक जोड्न नसकिएको अवस्थामा उक्त आर्थिक वर्षमा तीन तहको सरकारको सहकार्यमा ट्रयाक खुलाउन सफल भइएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो ।

    शालिग्राम करिडोर अन्तर्गत बन्चरेभीरको पहाड काट्न देवघाट गाउँपालिकाले रु ७० लाख, प्रदेश सरकारले रु दुई करोड र सङ्घीय सरकारले रु ७० लाख लगानी गरेका थिए । “चालु आर्थिक वर्षमा ट्रयाक खन्न शुरु गरेको ६० वर्षपछि शालिग्राम करिडोरको देवघाट खण्ड पूर्ण भएको छ,” थापाले भन्नुभयो, “देवघाट गाउँपालिका–१ मा करिडोरको सबैभन्दा जटिल भाग रहेको बन्चरेभीरमा ट्रयाक खुलेसँगै गाउँपालिकाका पर्ने ४० किमि खण्ड सडक सञ्जालसँग जोडिएको छ ।” उहाँका अनुसार तीन तहको सरकारको लगानीमा देवघाट खण्डमा ट्रयाक खुलेसँगै गाउँपालिकाको पाँच वटै वडा सडक सञ्जालसँग जोडिएको छ ।

    गण्डकी प्रदेशको शिरदेखि अन्तिमसम्म जोड्ने उक्त करिडोरलाई प्रदेश सरकारले

    गौरवको आयोजनाको रुपमा समावेश गरेको थियो । चितवनको दासढुङ्गाबाट तनहँुको देवघाट हुँदै कालीगण्डकी नदीको तिरतिरै मुक्तिनाथसम्म जोड्ने उक्त करिडोरको स्याङ्जा र पाल्पाको सीमाना केलादी घाटसम्म ट्रयाक पूरा भईसकेको छ ।

          यसैगरी सोही आर्थिक वर्षमै सबै वडाहरुमा रहेका सडक मर्मत, प्रदेश सरकारको सशर्त रु एक करोड बजेटबाट गाईघाट सिन्च्याङ छिपछिपे सानुभञ्ज्याङ सडक अन्तर्गत गाईघाटदेखि सिन्च्याङसम्मको सडक स्तरोन्नतीको कार्य शुरु भएको छ । थापाका अनुसार आमडाँडा, डगरा–ङाल्दिघाट, कोटवैदीदेखि खानीभित्ता ट्रयाक जोडिएको छ भने सिन्च्याङ–दुईघरे–सार्वाङ–पार्लाङमा ७ किमि नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।

    गाईघाट बगन्दी मोटरमार्गको पाँच किमि नयाँ ट्रयाक खोलिएको छ भने गाईघाट–सिन्च्याङ–छिपछिपे–सानुभञ्ज्याङ मोटरमार्गको गाईघाट खण्डबाट स्तरोन्नती कार्य भईरहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

    प्रदेश सरकारको सहयोगमा घण्टाचुली जाने सिँढी मार्ग निर्माण, कोटा स्वास्थ्यचौकी भवन निर्माण, बगन्दी र खाल्टेमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण कार्य चालु आर्थिक वर्षमै सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

    पर्यटनतर्फ सबै वडाहरु समेटी ७ वटा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छ । पर्यटन प्रबद्र्धनका लागि पर्यटन गुरुयोजना सम्पन्न भएको र देवघाट गाउँपालिका–१ छरछरे झरना र घण्टाचुली, देवघाट गाउँपालिका–२ खाल्टे पार्क र कोटवैदी कृषि अनुसन्धान केन्द्र, देवघाट गाउँपालिका–४ मा सांस्कृतिक सङग्रहालय अध्ययन सम्पन्न भएको छ ।

    गाउँपालिकाले पर्यटन क्षेत्रका विकासका लागि पर्यटन गुरुयोजना तर्जुमा गरेको र सोही गुरुयोजनालाई आधार बनाएर पर्यटन क्षेत्रमा काम गरिरहेको थापाले बताउनुभयो । थापाका अनुसार छरछरे झरना, घण्टाचुली, खाल्टे पार्क निर्माणाधीन अवस्थामा रहेको, घण्टाचुली पर्यटन प्रबद्र्धनका लागि देवघाट शिखरडाँडा र ङाल्दीघाट छिपछिपे घण्टाचुली पदयात्रा सम्पन्न गरिएको छ ।

    कृषि कार्यक्रम तर्फ कृषि हाटबजार निर्माण र सञ्चालन, विषादीरहित अर्गानिक खेतीमा जोड, साना सिंचाई आयोजना, सुन्तला, आँप, लिची बगैंचा सुदृढीकरण, भकारो सुधार, पाँच वटै वडामा मौरीघार वितरण, कोटवैदीमा कृषि अनुसन्धान केन्द्र निर्माण, चार स्थानमा तरकारी पकेट क्षेत्र घोषणा, माटो जाँच शिविर, अमेरिकन फौजी किरा महामारी रोकथामको लागि तत्काल किसानहरुलाई निःशुल्क विषादी उपलब्ध गराई महामारीको उच्च जोखिमलाई कम गरिएको गाउँपालिकाले जनाएको छ ।

    त्यस्तै देवघाट गाउँपालिका–२, ३ र ४ मा मौरीपालन, अमिलो जातको फलफूलको पकेट क्षेत्र घोषणा गरिएको छ भने देवघाट गाउँपालिका–४ सिन्च्याङ र आमडाँडामा अम्रिसो खेती पकेट क्षेत्र घोषणा गरिएको छ ।

    पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत प्रत्येक वडामा एक÷एक गरी पाँच जना कृषकलाई पुरस्कार वितरण, गाईभैंसी गरी ९ सय कृत्रिम गर्भाधान, भकारो सुधार कार्यक्रम अन्तर्गत ५३ जनालाई रकम वितरण, स्थानीय जातको कुखुरा प्रबद्र्धनका लागि २ हजार ५ सय चल्ला वितरण, बाख्रापालन पकेट क्षेत्रमा बोयर जातको उन्नत बोका १२ वटा निःशुल्क वितरण, बाख्रापालन पकेट क्षेत्रमा किम्बु, बकाईनो, ईपिलिपी, मेन्डुला घाँस वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।