महिलालाई उद्यमशील बनाउँदै सहकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    महिलालाई उद्यमशील बनाउँदै सहकारी

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको भीमाद नगरपालिका–९ भानुमतिस्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारीले महिलाहरुलाई उद्यमशील बन्न प्रेरित गरेको छ । घरको चुल्होचौकोमा मात्रै सीमित रहने यहाँका महिलाहरु अहिले उद्यमशील बनेका छन् ।

    नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले हेफर इन्टरनेशनल नेपालसँगको सहकार्यमा पशुवस्तुको मूल्यश्रृङ्खलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना सञ्चालन गरेपछि यहाँका महिला उद्यमशील बन्न थालेका हुन् । महिला सहकारी मार्फ् सञ्चालित परियोजनापछि यहाँका महिलाहरु बाख्रापालनतर्फ आकर्षित हुँदै गएको सहकारीका अध्यक्ष देवी मोक्तान आलेले जानकारी दिनुभयो ।

    “सहकारी संस्थाले उद्यमी बन्न प्रेरित गरेसँगै यहाँका महिलाहरु उद्यमी बन्न थाल्नुभएको छ,” उहाँले भन्नुभयो, “घरको चुल्होचौकामा व्यस्त रहने महिलाहरु घरको कामसँगै बाख्रापालनमा हुनुहुन्छ ।”

    उक्त सहकारीमा तीन सय ७२ महिला आबद्ध छन् । सहकारीमा आबद्ध महिलाहरुले कम्तिमा तीनदेखि ४६ वटासम्म माउ बाख्रापालन गरेका छन् । सहकारीमा आबद्ध महिलाहरुको जीवनस्तर उकास्न हलेदो, बेमौसमी तथा मौसमी तरकारी खेतीका लागि पनि सहयोग गरिएको सहकारीका सचिव सुमाया थापाले जानकारी दिनुभयो ।

    महिलाहरुले पालेका खसीबोका विक्रीका लागि सहकारीले नै बजारीकरणको व्यवस्था गर्दै आएको छ । बन्दाबन्दीको क्रममा पनि सहकारीमार्फत् रु २५ लाख बराबरको खसीबोका विक्री भएको थियो । उक्त अवधिमा १ सय १६ वटा खसीबोका विक्री भएको सहकारीले जनाएको छ ।

    उहाँका अनुसार बन्दाबन्दीको अवधिमा ४६ वटा खसी विक्री मार्फत् रु सात लाख नौ हजार आठ सय एक र ७० वटा व्याड बोका विक्री मार्फत् रु १७ लाख ९१ हजार सात सय ५० आम्दानी भएको छ । बन्दाबन्दीको क्रममा पनि सहकारीमा आबद्ध कृषकले पालेका खसीबोकाको बजारीकरण भएपछि कृषक खुशी भएका छन् । सहकारीका सदस्य एवं बाख्रापालक कृषक लुमाया थापाले छ वटा खसी विक्री गर्दा रु एक लाख ५३ हजार आम्दानी भएको जानकारी दिनुभयो । “विषम् परिस्थितिमा पनि खसी विक्री भएको आम्दानीले गुर्जो ट¥र्यो,” उहाँले भन्नुभयो ।