बहुविवाह, लागुऔषध, जुवा र चोरीका पाँच प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    बहुविवाह, लागुऔषध, जुवा र चोरीका पाँच प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, आईतवार

    तनहुँ : प्रहरीले बहुविवाह, लागुऔषध, जुवा र चोरी मुद्दाका पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बहुविवाह मुद्दामा व्यास नगरपालिका–१२ सुपारेडाँडाका ३० वर्षीय करणबहादुर परियार पक्राउ परेका छन् ।

    निजविरुद्ध जिल्ला अदालत तनहुँले विसं २०७५ पुस १९ गते एक वर्ष ६ महिना कैद्य र रु पाँच हजार जरीवानाको फैसला सुनाएको थियो । निजलाई आइतबार पक्राउ गरी अदालत पेश गरिएकामा बाँकी कैद भुक्तानका लागि कारागार तनहुँ चलान गरिएको छ ।

    त्यस्तै जुवा मुद्दामा फरार रहेका दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–३ बस्ने मङ्गलबहादुर पाख्रिन र रमेश कुमार श्रेष्ठ रहेका छन् । निजहरु विरुद्ध जिल्ला अदालत तनहुँले विसं २०७४ असोज २९ गते जनही रु तीन सय जरीवानाको फैसला गरेको थियो । निजहरुलाई पनि आजै अदालत पेश गरिएकामा तोकिएको कैद भुक्तान गरी छुटेका छन् ।

    लागुऔषध मुद्दामा आँबुखैरेनी गाउँपालिका–१ बस्ने ३६ वर्षीय विष्णुबहादुर सुनारी पक्राउ परेका छन् । निजविरुद्ध जिल्ला अदालतले विसं २०७४ भदौ ८ गते दुई महिना कैद र रु दुई हजार जरीवानाको फैसला गरेको थियो । पक्राउ परेकालाई आजै अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

          चोरी मुद्दामा आँबुखैरेनी गाउँपालिका–२ बस्ने २० वर्षीय सुमित गुरुङ पक्राउ परेका छन् । निजविरुद्ध जिल्ला अदालत चितवनले विसं २०७३ चैत १३ गते तीन दिन कैदको फैसला सुनाएको थियो । पक्राउ परेकालाई आजै अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेकालाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।