गाउँपालिकाद्वारा कृषकलाई प्रोत्साहन रकम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    गाउँपालिकाद्वारा कृषकलाई प्रोत्साहन रकम

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७७, आईतवार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकाले कृषकलाई कृषिमा प्रोत्साहित गर्न प्रोत्साहन रकम वितरण गरेको छ । कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत गाउँपालिकाले वडा नं ८ का कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार उक्त वडाका दुई जना बाख्रापालक कृषकलाई जनही रु १३ हजार, बङ्गुरपालक कृषकलाई जनही रु ११ हजार, एक जना माछापालक कृषकलाई रु पाँच हजार र एक जना कुखुरापालक कृषकलाई रु पाँच हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको छ ।

    “कृषि क्षेत्रमा राम्रो काम गर्ने कृषकलाई पुरस्कृत गर्न प्रोत्साहन रकम वितरण गरेका हौ,” पौडेलले भन्नुभयो, “यसले कृषकलाई कृषितर्फ प्रोत्साहन गर्ने गाउँपालिकाको विश्वास छ ।” गाउँपालिकाले सबै वडाका उत्कृष्ट कृषकलाई प्रोत्साहन रकम वितरण गर्ने तयारी गरेको छ । बाँकी सात वटा वडाका कृषकलाई पनि प्रोत्साहन रकम वितरण गरिनेछ । “कार्यविधि अनुसार सबै वडामा कृषि पेशामा अब्बल कृषक छनौट गरेर प्रोत्साहन रकम वितरण गर्न लागेका हौ,” पौडेलले भन्नुभयो ।

    पौडेलका अनुसार यो कार्यक्रम गत आर्थिक वर्ष ०७६÷७७ को कार्यक्रम हो । कोभिड–१९ को प्रभावका कारण ढिला गरी कृषकलाई रकम वितरण गरिएको पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले यस अगाडी आठ वटै वडाका २०÷२० जना कृषकलाई जनही रु २० हजारका दरले अनुदान रकम वितरण गरिसकेको छ ।

    ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकालाई कृषिमा समृद्ध बनाउने लक्ष्य राखिएको र कृषकलाई सहयोग गर्ने कुरामा गाउँपालिका सदैव प्रतिबद्ध रहेको जानकारी दिनुभयो । “कृषकलाई कृषि पेशातर्फ आकर्षित गराउन गाउँपालिकाले अनुदानको व्यवस्था गरेको छ, यसले गाउँपालिकालाई पनि कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्छ,” उहाँले भन्नुभयो ।