कृत्रिम गर्भाधानका लागि नयाँ प्रविधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    कृत्रिम गर्भाधानका लागि नयाँ प्रविधि

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७७, आईतवार

    तनहुँ : तनहुँ जिल्लामै पहिलो पटक कृत्रिम गर्भाधानका लागि नयाँ प्रविधिको प्रयोग गरिएको छ । भीमाद नगरपालिकामा कृषकले पालेका बाख्रालाई गर्भाधान गर्नका लागि नगरपालिकाले नयाँ प्रविधिको प्रयोग गरेको हो ।

    नगरपालिकाको पशु शाखाले भीमाद नगरपालिका–९ को पाथर्दीमा कृषकले पालेका बाख्रामा डिभाइस प्रयोग गरी कृत्रिम गर्भाधान गरेको हो । पाथर्दी र जौपानीका कृषकले पालेका बाख्रामा पहिलो पटक डिभाइस प्रविधिको प्रयोग गरी कृत्रिम गर्भाधान गराइएको पशु शाखा प्रमुख मुक्ति पौडेलले जानकारी दिनुभयो । यस अघि सुई (इन्जेक्सन) मार्फत् मात्रै कृत्रिम गर्भाधान गरिँदै आएकामा डिभाइसको प्रयोग गरि पहिलो पटक गर्भाधान गराईएको पौडेलले जानकारी दिनुभयो ।

    पाथर्दी र जौपानीका ३० वटा माउ बाख्रामा डिभाइस मार्फत् कृत्रिम गर्भाधान गरिएको छ । उन्नत जातको बोकाको बीर्य राखिएको सिआइडिआर नामको डिभाइस बाख्राको पाठेघरको मुखमा राखेर १८ दिन पछि झिक्ने र त्यसपछि गर्भाधानको प्रकृया पूरा हुने पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त डिभाईस राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले उपलब्ध गराएको थियो ।

    उन्नत जातको बोकाको बीर्य राखिएको सिआइडिआर नामको डिभाइस बाख्राको पाठेघरको मुखमा राखेर १८ दिन पछि झिक्ने र त्यसपछि गर्भाधानको प्रकृया पूरा हुने पौडेलले जानकारी दिनुभयो ।

    कृषकले विदेशबाट बोयर जातको बीउ बोका ल्याएर बाख्रा उत्पादन गर्दा महङ्गो पर्ने हुँदा बोकाको बीउ डिभाइस मार्फत बाख्राको पाठेघरमा पठाएर कृत्रिम गर्भाधान गराउने प्रविधि शुरु गरिएको पौडेलले जानकारी दिनुभयो । जिल्लामै पहिलो पटक उक्त प्रविधिको प्रयोग गरिएको हुँदा पशु प्राविधिकहरुले यसलाई परीक्षणको रुपमा लिएका छन् ।

    पाथर्दीका युवा कृषक कृषक शिवकुमार आलेले डिभाइस प्रविधिको कृत्रिम गर्भाधान पहिलो पटक भएको हुँदा धेरै कृषकहरु यसबारेमा अनभिज्ञ रहेको बताउनुभयो । “नयाँ प्रविधि भएकाले यसमा कृषकलाई खासै जानकारी छैन, तर प्राविधिकले भने अनुसार यो कार्यक्रम प्रभावकारी छ,” आलेले भन्नुभयो ।

    कृत्रिम गर्भाधान मार्फत् पाठापाठी उत्पादन गर्दा कृषकलाई सस्तो पर्ने र एकै समयमा कृत्रिम गर्भाधान गराउँदा पाठापाठी उत्पादन हुने हुँदा त्यसले बजारलाई पनि सन्तुलनमा राख्न सहयोग पुग्ने आलेले बताउनुभयो ।

    जिल्ला पशु सेवा विज्ञ केन्द्र तथा भेटेरेनरी अस्पताल तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठले बाख्राको कृत्रिम गर्भाधानमा सिआइआरडी डिभाईसको प्रयोग जिल्लामा पहिलो पटक शुरु भएको बताउनुभयो । हिटसिन क्रोईनाजेसन (एक्रकालिन कृत्रिम गर्भाधान) नामको यो कार्यक्रम बाख्राको पाठेघरमा हर्माेन दिने प्रविधि भएको डा. श्रेष्ठको भनाई छ । डा. श्रेष्ठका अनुसार यो प्रविधि सफल हुने वा नहुनेमा बाख्राको शारीरिक अवस्था र बाख्राको पोषण तथा समयले पनि यसको निर्धारण गर्छ । हालसम्मको प्रयोगमा ३० देखि ४० प्रतिशतको हाराहारीमा बाख्राको कृत्रिम गर्भाधान सफल भएको डा. श्रेष्ठको भनाई छ ।

    यहाँका कृषकको मुख्य आम्दानीको स्रोत नै बाख्रापालन हो । युवा कृषक आलेले ७० वटा बाख्रा पाल्नुभएको छ । उहाँले बाख्रापालनबाट वार्षिक रु दश लाख भन्दा बढि आम्दानी गर्नुहुन्छ । सोही ठाउँका श्रीमाया आलेले ४५ वटा बाख्रा पाल्नुभएको छ । सोही ठाउँकै खिमबहादुर थापाले ४० वटा बाख्रा पाल्नुभएको छ ।

    उहाँहरु मात्रै होइन यस ठाउँका सबैले बाख्रापालनबाटै मनग्य आम्दानी गर्दै आउनुभएको छ । यहाँका ६० घरधुरी बाख्रापालनमा आबद्ध छन् । दिलमाया थापा, लुमाया थापा, देवी मोक्तान आले, नरमाया थापा, खेमबहादुर थापा, टकबहादुर थापा लगायत व्यावसायिक बाख्रापालनमा आबद्ध हुनुहुन्छ ।