तनहुँ : तनहुँको भीमाद नगरपालिकाले सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ । आइतबार बसेको नगरकार्यपालिकाको बैठकले भदौ ४ गतेदेखि नगरपालिका क्षेत्रभित्र बन्द रहेका सम्पूर्ण सेवा तथा कार्य खुल्ला गर्ने निर्णय गरेको हो ।
जनस्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य रुपमा पालना गर्ने गरी सार्वजनिक यातायात लगायत सबै सेवा तथा कार्यहरु अर्को व्यवस्था नभएसम्मका लागि सुचारु गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सार्वजनिक यातायात सञ्चालन गर्दा चालक तथा यात्रुहरुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र तोकिएको मापदण्ड बमोजिम मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
नगरपालिकाले पसलहरुमा अनिवार्य रुपमा डोरीको घेराबार गर्ने, साबुनपानीले हात धुने र सामाजिक तथा भौतिक दूरी कायम गर्ने व्यवस्था मिलाउन, बाहिरबाट सामान ढुवानी गरी ल्याउने व्यवसायीहरुले ढुवानीमा प्रयोग हुने सवारी साधन सो मा काम गर्ने व्यक्तिहरुलाई अनिवार्य रुपमा निसङ्क्रमण गर्ने व्यवस्था मिलाएर मात्र ढुवानी तथा लोड अनलोडको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कने र अत्यावश्यक काममा घर बाहिर निस्कन पर्ने भएमा अनिवार्य रुपमा मास्क लगाउने र समूहमा नहिँड्न, भौतिक र सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।