प्लाज्मा थेरापीबाट उपचार गरिएका संक्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश २

    प्लाज्मा थेरापीबाट उपचार गरिएका संक्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, सोमबार

    वीरगन्ज :  वीरगन्जमा प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। नारायणी अस्पतालमा उपचारका क्रममा सर्लाहीको चकरघट्टा गाँउपालिका ३ सुन्दरपुरका ३५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिनुभयाे ।

    ७ दिनदेखि ज्वरो, ५ दिनदेखि खोकी र २ दिनदेखि स्वास प्रश्वासमा समस्या भएपछि भदौ १३ गते  नारायणी अस्पतालमा भर्ना गरिएका ती पुरुषमा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पतालको आइसियुमा भर्ना गरिएका उनको स्वास्थ्य अवस्था झन जटील बन्दै गएपछि भदौ १४ गते राति नै प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। 

    प्लाज्मा थेरापी थालिएसँगै उनको स्वास्थ्यमा सुधार पनि आइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए। तर उपचारका क्रममा मुटुमा पनि समस्या देखिएको र मुटुको समस्या जटिल बनेर उनको आइतबार बिहान १० बजे मृत्यु भएको उपचारमा संलग्न चिकित्सक उदय नारायण सिंहले जानकारी दिनुभयाे ।