कोरोना सङ्क्रमित मिर्गौला पीडितलाई डायलासिस गर्न छुट्टै कक्ष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमित मिर्गौला पीडितलाई डायलासिस गर्न छुट्टै कक्ष

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७७, बुधबार

    तनहुँ : कोरोना सङ्क्रमण भएर आइसोलेशनमा उपचाररत एक मिर्गौला पीडितलाई छुट्टै कक्षमा राखेर डायलासिस सेवा दिइने भएको छ । गत सोमबार पोखरामा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएका व्यास नगरपालिका–४ का ३६ वर्षीय पुरुषलाई दमौली अस्पतालमा रहेको डायलासिस केन्द्रको छुट्टै कक्षमा राखेर सेवा दिन लागिएको हो ।

    ती पुरुषलाई पोखरामा नै राखेर डायलासिस सेवा प्रदान गर्न सिफारिस गरेपनि पोखराले राख्न नमानेपछि दमौलीमा नै डायलासिस गर्न लागिएको शत्रुधन मन्जु डायलासिस केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिनुभयो । ती युवाको पछिल्लो पटक गत शनिबार सोही केन्द्रमै डायलासिस गरिएको थियो ।

    “पोखरा गएर आफ्नै खर्चमा पिसीआर परीक्षण गर्नुभएको रहेछ, जसमा उहाँलाई कोरोना सङ्क्रमण देखियो,” उहाँले भन्नुभयो, “शनिबार उहाँलाई डायलासिस गराउने नर्सलाई पनि आइसोलेट गरेर राखेका छौ ।” ती सङ्क्रमितलाई काठमाडौस्थित डायलासिस केन्द्रमा पठाउने व्यवस्था गर्न नसकिएपछि सावधानी अपनाएर दमौलीमै डायलासिस सेवा दिने तयारी गरिएको पण्डितले बताउनुभयो । “काठमाडौमा खाने र बस्ने व्यवस्था सङ्क्रमित आफैले गरे डायलासिस सेवा दिन सकिने बारे कुरा भएको थियो, तर उहाँलाई यहाँबाट लगिदिन सरोकारवाला निकाय तयार भएनन्,” उहाँले भन्नुभयो ।

    केन्द्रमै रहेको एउटा छुट्टै कक्षमा राखेर उहाँलाई डायलासिस सेवा दिने तयारी गरिएको छ । “डायलासिसका सबै बिरामी गइसकेपछि उहाँलाई मात्रै एक्लै सेवा दिन्छौ, त्यसका लागि शनिबार उहाँलाई सेवा दिने नर्सलाई उहाँलाई सेवा दिन खटाउँछौ,” पण्डितले भन्नुभयो । ती सङ्क्रमित युवाको आज राति डायलासिस गरिँदैछ ।

    आज राति डायलासिस गराएपछि पुनः शनिबार डायलासिस गराइनेछ । कोरोना सङ्क्रमणमुक्त नभएसम्म यही छुट्टै राखेर उच्च सावधानीका साथ डायलासिस गराउने व्यवस्था मिलाइने पण्डितले जानकारी दिनुभयो । “अरु कुनै विकल्प नभएपछि कोरोना सङ्क्रमणमुक्त नभएसम्म यहीँबाटै सेवा दिन्छौ, त्यसका लागि सबै सावधानी अपनाएका छौ,” उहाँले भन्नुभयो ।

    केन्द्रमा हाल ६८ जना मिर्गौला पीडितले डायलासिस सेवा लिइरहेका छन् । दैनिक २२ जनालाई तीन घण्टाको अवधिमा डायलासिस सेवा प्रदान गरिएको छ । नियमित रुपमा डायलासिस गराइरहेका मिर्गौला पीडितलाई कुनै समस्या नभएको खण्डमा पिसीआर अनिवार्य गरिएको छैन, तर कुनै लक्षण देखिएको खण्डमा भने पिसीआर परीक्षण गराउन अनुरोध गरिएको छ । “सामान्य समस्या देखियो भने केन्द्रकै समन्वयमा उपचारको व्यवस्था मिलाइएको छ, उहाँहरुलाई अन्यत्रै गएर उपचार गर्न यो बेला जोखिम हुन्छ,” उहाँले भन्नुभयो ।

    विसं २०७२ साल मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म करीब २५ हजार भन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा ९ वटा डायलासिस गराउने उपकरण रहेको छ ।

    हेल्थ केयर फाउण्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुधन उपाध्यायको स्मृतिमा शुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा ६ वटा डायलाइसिस उपकरण जडान गरिएको थियो । पछि ३ वटा उपकरण थप गरेपछि केन्द्रमा हाल ९ वटा डायलासिस उपकरण रहेको छ ।