सफासडक की फोहर सडक ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सफासडक की फोहर सडक ?

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७७, शुक्रबार

    तनहुँ : तस्वीरमा देखिएको फोहर भएको थुप्रिएको ठाउँ दमौलीको सफासडक हो । सफासडक नमूना टोल व्यवस्थापन समितिले सफासडकमा फोहर फालेमा रु एक हजार जरीवाना गर्ने सार्वजनिक सूचना टाँसेको छ । सोही सूचनाको तल फालिएको छ फोहरको डङ्गुर ।

    नगरपालिकाले फोहर बिसर्जन गर्दै आएको भतेरी मादी नदीले कटान गरिदिएपछि बजार क्षेत्रबाट फोहर उठाउन समस्या भएको छ । नगरपालिकाले केही दिन अगाडी सूचना नै प्रकाशित गरेर भदौ २७ गतेसम्म फोहर उठाउन नसकिने भएकाले घरबाहिर फोहर ननिकाल्न सर्वसाधारणलाई आग्रह गरेको थियो । तर सर्वसाधारणले उक्त सूचनालाई अटेर गर्दै दमौलीका विभिन्न स्थानमा जथाभावी फोहरको डङ्गुर फालिदिएका छन् ।

    व्यास नगरपालिकाले फोहर फाल्ने ठाउँको व्यवस्था नभएकाले बजार क्षेत्रबाट फोहर उठाउन नसकिएको जनाएको छ । नगरपालिकाका सरसफाई उपशाखा प्रमुख भाग्यशाली ढुङ्गानाले नदी कटानले वर्षौदेखि फोहर फाल्दै आइएको ठाउँ कटान गरिदिएपछि समस्या उत्पन्न भएको बताउनुभयो ।

    ढुङ्गानाले फोहर फाल्ने वैकल्पिक स्थानको खोजी भइरहेको जानकारी दिँदै दुई दिनपछि फोहर उठाउन सकिन्छ की भन्ने लागेको बताउनुभयो । “आज पनि सोही विषयमा छलफल हुँदैछ, व्यास नगरपालिका–४ र १० को बीच भागमा फोहर फाल्ने स्थान बनाउनका लागि पनि प्रकृया शुरु भइसकेको छ, अन्यत्र पनि ठाउँ खोज्दैछौ,” उहाँले भन्नुभयो ।

    केही समय अगाडी मादीमा आएको बाढीले भतेरी जाने बाटो र फोहर फाल्ने ठाउँ नै कटान गरिदिएको थियो । लगत्तै नगरपालिकाले अस्थायी रुपमा बाटो बनाएर फोहर फाल्ने ठाउँ बनाएको थियो । तर उक्त ठाउँ कटान भएपछि भतेरीमा फोहर फाल्न रोकिएको छ ।

    व्यास नगरपालिका–४ र १० को बीचमा पर्ने माथिल्ला भतेरीमा फोहर फाल्ने ठाउँ बनाउनका लागि वडाध्यक्ष विश्वराज न्यौपानेको संयोजकत्वमा वातावरणीय अध्ययन समिति गठन गरिएको छ । व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ ।