दमौलीमै आयुर्वेदिक स्यानीटाइजर उत्पादन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमै आयुर्वेदिक स्यानीटाइजर उत्पादन

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७७, सोमबार

    तनहुँ : जिल्ला आयर्वुेद स्वास्थ्य केन्द्र तनहुँले सात जडिबुटीको प्रयोग गरी स्यानीटाइजर उत्पादन गरेको छ । बजारमा अल्कोहलयुक्त स्यानीटाइजर मात्रै उपलब्ध रहेकामा कार्यालयले सात वटा जडिबुटीको प्रयोग गरी आयुर्वेदिक स्यानीटाइजर उत्पादन गरेको हो ।

    तुलसी, तितेपाती, निम, घ्युकुमारी, फिटकिरी, लसुन, लेमन ग्रास मिसाएर आयुर्वेदिक स्यानीटाइजर उत्पादन गरिएको केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार स्यानीटाइजर उत्पादनका लागि मही पनि मिसाइएको छ ।

    केन्द्रले शुरुमा नमूनाको रुपमा एक सय एमएलको एक सय थान स्यानीटाइजर उत्पादन गरेको छ । आयर्वुेदिक स्यानीटाइजर अन्य स्यानीटाइजर भन्दा सुरक्षित रहेको बताउँदै डा. मण्डलले भन्नुभयो, “अल्कोहल मिसाइएको स्यानीटाइजरले छालामा समस्या हुन सक्छ, कसैलाई एलर्जी हुन सक्छ । तर आयुर्वेदिक स्यानीटाइजर पूर्ण सुरक्षित छ ।” धार्मिक शास्त्र अनुसार पनि कसैले अल्कोहल मिसिएको स्यानीटाइजर प्रयोग नगर्ने कारण जडिबुटी मिसाएर बनाइएको आयर्वुेदिक स्यानीटाइजर सबैले प्रयोग गर्न मिल्ने डा. मण्डलले बताउनुभयो ।

    उहाँका अनुसार एउटा स्यानीटाइजर उत्पादन गर्न करीब रु २० देखि रु २२ सम्ममात्रै खर्च भएको छ । “जडिबुटी उपलब्ध भएको खण्डमा एक दिनमै स्यानीटाइजर उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार आयुर्वेदिक स्यानीटाइजर दाद लगायतका छालाका अन्य समस्या निराकरणका लागि पनि प्रयोग गर्न सकिन्छ ।

    आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन एवं व्यवस्थापन समितिका अध्यक्ष देवीबहादुर बस्नेतले नमूनाको रुपमा उत्पादन गरिएको स्यानीटाइजर विभिन्न सरकारी कार्यालय, सङ्घसंस्थालाई उपलब्ध गराइने र यसको प्रयोगको प्रतिक्रियाका आधारमा थप स्यानीटाइजर उत्पादन गर्ने सोच बनाइएको जानकारी दिनुभयो । “अहिले नमूनाको रुपमा मात्रै उत्पादन गरेका हौ, उपयोग गरेपछि कस्तो प्रतिक्रिया आउँछ त्यसपछि व्यावसायिक रुपमा नै यसको उत्पादन गर्ने लक्ष्य राखेका छौ,” बस्नेतले भन्नुभयो ।