तनहुँ : तनहुँको भानु नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिका बैठकमा विवाद भएको छ । भानु नगरपालिकाको कार्यालय भन्सारस्थित नयाँ शहरी आयोजनाको भवनमा सार्ने निर्णय भएपछि असन्तुष्ट रहेका वडा नं २ का अध्यक्ष अर्जुन केसीले बैठक चलिरहेकै बेला माइन्युट केरमेट गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिनुभयो ।
भानु नगरपालिकाको सभाले भन्सारमा नगरपालिकाको सार्ने निर्णय यस अगाडी नै गरेको थियो । सोही समयदेखि नै वडाध्यक्ष केसी लगायतका समूह कार्यालय सार्न नहुने भन्दै आन्दोलनरत थियो ।
भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले भने बैठकमा केही विवाद नभएको बताउनुभयो । “खासै त्यति ठूलो विवाद होइन,” उहाँले भन्नुभयो ।
बैठकले असोज १ गतेदेखि नै भन्सारस्थित नयाँ शहरी आयोजनाको भवनमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ ।
भानु नगरपालिका–२ का वडाध्यक्ष अर्जुन केसीले अवैधानिक रुपमा गरिएको निर्णय आफूहरुलाई मान्ने नभएको बताउनुभयो । “सबै तयारी भइसकेपछि आज कार्यपालिकाको बैठक बोलाएर हस्ताक्षर गर्न लगाए, मैले हस्ताक्षर गर्दिन भनेर मााइन्युटमा केरिदिएको हुँ,” केसीले भन्नुभयो ।