तनहुँ : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भीमाद नगर कमिटीका सदस्य धु्रवराज खनालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । बुधबार शोकवक्तव्य जारी गर्दै मन्त्री गुरुङले खनालको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।
खनालको काठमाडौस्थित नेपाल मेडिसिटी अस्पतालमा मङ्गलबार निधन भएको थियो । खनाल केही समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।
अत्यन्त भद्र, शालिन, बौद्धिक तथा सामाजिक व्यक्तित्वको रुपमा स्थापित खनाल कम्युनिष्ट आन्दोलनको धरोहर रहेको भन्दै शोकवक्तव्यमा खनालको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ । मन्त्री गुरुङले शोकको घडीमा स्व. खनालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
स्व. खनालका दुई श्रीमती शारदा खनाल र टिकामाया खनाल, छोराहरु निरज खनाल, उज्ज्वल खनाल, सरोज खनाल, सुदन खनाल र छोरी अनिता खनाल हुनुहुन्छ । स्व. खनालका धर्मपत्नी शारदा खनाल भीमाद नगरपालिकाको उपप्रमुख हुनुहुन्छ ।