तनहुँ : तनहुँको व्यास नगरपालिकाले वडा नं १० स्थित दुम्सी आधारभूत स्वास्थ्य केन्द्रमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा कोमिड अस्पताल सञ्चालनका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेपछि नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रमा अस्पताल सञ्चालन गर्न लागेको हो ।
नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रलाई नै अस्थायी अस्पतालको रुपमा सञ्चालनका लागि तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।
नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माणका लागि पूर्वाधारको अध्ययन गर्न उपप्रमुख मीरा जोशीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । उक्त समितिमा प्रमुख प्रशासकीय अधिकृत, दमौली अस्पतालका चिकित्सक, व्यास नगरपालिकाका शहरी पूर्वाधार तथा प्राविधिक शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख सदस्य रहनुभएको छ । समितिले असोज महिनाभित्र प्रतिवेदन पेश गर्नेछ ।
सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेको र सङ्क्रमित बिरामीलाई राख्न अस्पतालमा शैय्याको अभाव देखिन थालेपछि जिल्लाका आठ वटा स्थानीय तहमा पाँच÷पाँच शैय्याको अस्पताल सञ्चालनका लागि रु दश÷दश लाख बजेट विनियोजन गरेको थियो ।
सरकारको निर्णय बमोजिम भीमाद नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकामा अस्पताल सञ्चालन हुने भएको छ ।
हालसम्म अस्पताल स्थापना भइनसकेका स्थानीय तहहरुमा कम्तिमा पाँच शैय्याको अस्पताल सञ्चालन गर्ने सरकारको घोषित नीति कार्यान्वयनका लागि आवश्यक शैय्या, उपकरण र जनशक्ति व्यवस्थापन लागि उक्त रकम विनियोजन गरिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार स्थानीय तहमा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्रका भवन, सामुदायिक भवन वा अस्थायी टहरामा तत्काल कोभिड–१९ का बिरामीको उपचार व्यवस्थापन गरिनेछ । अस्पताल सञ्चालनका लागि शैय्या लगायतका सामग्री खरिदका लागि रु पाँच लाख, औषधिका लागि रु ५० हजार र डाक्टर, स्वास्थ्यकर्मी लगायतका लागि रु चार लाख ५० हजार गरी कूल र दश लाख बजेट विनियोजन गरिएको छ । उक्त बजेट अपुग भएमा बाँकी रकम सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन सम्बन्धी मार्गदर्शन २०७७ मा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार उक्त बजेट तीन महिनाको लागि छुट्याइएको र कार्य प्रगतिको आधारमा बजेट थप गरिनेछ । उक्त अस्पताल सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्य तथा समन्वयमा सञ्चालन हुनेछ ।