कुखुरा खान पल्केकाे चितुवा खाेरमा (भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कुखुरा खान पल्केकाे चितुवा खाेरमा (भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७७, शुक्रबार

    तनहुँ : तनहुँको भानु नगरपालिका–३ तुलुङकोटमा खोरमा परेर एउटा चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालय तनहुँले थापेको खोरमा परेर शुक्रबार बिहान चितुवा नियन्त्रणमा आएको हो ।

    डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले चार/पाँच दिन अगाडी थापेको खोरमा चितुवा नियन्त्रणमा आएको जानकारी दिनुभयो । । “त्यो ठाउँमा एक जना व्यक्तिको कुखुरा खोरमा पसेर कुखुरा मारिदिएको भन्ने गुनासो आएपछि खोर थापेका थियौ, उक्त खोरमा चितुवा नियन्त्रणमा आएको छ,” उहाँले भन्नुभयो । नियन्त्रणमा आएको चितुवालाई उपयुक्त स्थानमा पठाइनेछ ।

    नियन्त्रणमा आएको पोथी चितुवा ३/४ वर्षको छ । चितुवा शारीरिक रुपमा अशक्त रहेको पाइएको छ ।

    तुलुङकोटका सन्तबहादुर तामाङको कुखुरा खोरमा छिरेर चितुवाले विगत केही समयदेखि कुखुरा मारेको थियो । गत साउन १८ र १९ गते चितुवाले कुखुराको खोरमा रहेको चार सय भन्दा बढी कुखुरा मारेको थियो । त्यस्तै असोज १ गते ५ सय ३०, असोज ३ गते १ सय ३० कुखुरा मारेको र ५ सय ३५ भन्दा कुखुरा घाइते बनाएको तामाङले जानकारी दिनुभयो । चितुवाले दुःख दिएपछि चितुवा नियन्त्रणको माग र क्षतिपूर्ति सहित तामाङले डिभिजन वन कार्यालयमा निवेदन दिनुभएको थियो ।

    तनहुँका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुने क्रम बढेपछि डिभिजन वन कार्यालय तनहुँले काठको खोर थापेर चितुवा नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । यसअघि भानु नगरपालिकामा पाँच, व्यास नगरपालिकामा एक र बन्दीपुर गाउँपालिकामा एक गरी आठ वटा चितुवा नियन्त्रणमा आइसकेको छ ।

    त्यस्तै जिल्लाका विभिन्न स्थानमा पाँच चितुवा मृत अवस्थामा फेला परेका छन् । डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ र भानु नगरपालिका–७ बसन्तपुरमा चितुवा मृत अवस्थामा फेला परेको थियो ।

    भिडियाे : डिभिजन वन कार्यालय तनहुँ