पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७७, शुक्रबार

    नवलपुर : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो ।

    बस भिरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो । बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९४० नंको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो ।

    पहिरोेका कारण बस खस्दा अन्य छ जना घाइते भएका छन् । घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए । यसैबीच दाउन्नेको यस खण्डमा बिहीबार बिहान ७ बजेबाट पहिरो खसी राजमार्ग बन्द भएकामा अझै पूर्णरूपमा सञ्चालन हुनसकेको छैन । गए राति पहिरो पन्छाएर सामान्यरूपमा यातायात सञ्चालन भएकामा पुनः सोही स्थानमा आज बिहान ३ बजेको समयमा पहिरो खसेपछि अहिले राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा रहेको प्रहरी नायब उपरीक्षक खाँणले बताउनुभयो ।