तनहुँ : एसियन सहकारी उपभोक्ता सहकारी संस्थाको छैटो साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले सहकारीको आर्थिक प्रतिवदेनले सहकारीको यथार्थ धरातल प्रष्ट पार्ने बताउनुभयाे । श्रेष्ठले सहकारीको उद्देश्य अनुरुप काम गर्नका लागि सम्पूर्ण शेयर सदस्यहरुले सहयोग गर्नुपर्ने बताउनुभयाे ।
जिल्ला उपभोक्ता सहकारी संघका अध्यक्ष राजेन्द्रकेशरी न्यौपानेले एसियन सहकारीले उपभोक्तासँग सम्बन्धित रहेर सुपथ मुल्य पसल खोलेर उपभोक्तालाई सेवा दिनु सकारात्मक रहेको बताउनुभयाे । जिल्ला सहकारी संघका सचिव मदन पण्डितले सहकारीको विद्यान अनुसार सहकारी संचालन गर्नुपर्नेमा जोड दिँदै नयाँ सहकारी ऐनले सहकारीलाई थप उद्देश्यका लागि नियमन गरेको हुँदा अबका दिनमा सहकारीले आफनो लक्ष्य अनुरुप काम गर्नुपर्ने बताउनुभयाे ।
तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वैकुष्ठनाथ मिश्रले सहकारीले उपभोक्ता पसल संचालन गरेर प्रदेशमा नै उच्चस्तरका काम गरेको बताउनुभयाे । धेरैजसो सहकारीले उद्देश्यले अनुरुप काम नगरेको सन्दर्भमा एसियन सहकारीले सुपथ मुल्य पसल खोलेर उपभोक्तालाई लाभान्वित हुने काम बताउनुभयाे । तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वृषराज श्रेष्ठले एसियनले नाम अनुसारको काम गरेको बताउनुभयाे । एसियन सहकारी प्रत्यक्ष रुपमा उपभोक्तासँग जोडिएकाले अबका दिनमा सबै सहकारीहरु विद्यान अनुरुप चल्नुपर्नेमा उहाँले जाेड दिनुभयाे ।
संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले सबै शेयरसदस्यहरुको सहयोगले मात्र सफल हुन सकिने हुँदा सहकारीद्वारा संचालित उपभोक्ता पसलबाट नै उपभोग्य समानहरु खरिद गरेर सहयोग गर्न अपिल गरे । नेपाल सरकारद्धारा जारी गरिएको सहकारी ऐन नियम अनुसार नै उपभोक्ता पसल सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे । २५० जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ३ करोड ८ लाख ७६ हजार रहेको कोषाध्यक्ष चुडालाल मल्लले जानकारी दिनुभयाे ।
सहकारीका उपाध्यक्ष हरिबहादुर कार्कीले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन सचिव कृष्णबहादुर केसीले गर्नुभएकाे थियाे ।