बल्ल बत्ती बल्याे !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    बल्ल बत्ती बल्याे !

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०७७, आईतवार

    तनहुँ : तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीका नोमनाथ पोख्रेललाई घरमै कहिले बत्ती बल्छ भन्ने लागेको थियो । वर्षौदेखि बत्तीको आशमा बस्नुभएका पोख्रेलको अनुहारमा अहिले भने छुट्टै उत्साह देखियो, कारण वर्षौदेखिको चाहना अहिले आएर पूरा भएको छ । “बत्ती कहिले बाल्न पाइएला भन्ने लागेको थियो, अहिले त घरमै बत्ती आयो,” पोख्रेलले खुशी हुँदै भन्नुभयो, “बत्ती आएपछि त घर नै उज्ज्यालो भएको छ ।”

    तनहुँको घिरिङ गाउँपालिकाले उक्त ठाउँमा एक सय घरधुरीमा बिजुली विस्तार गरेपछि यहाँका स्थानीयवासी हर्षित छन् । स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता विष्णुभक्त सिग्देलले वर्षौदेखि बत्तीको आशमा बसेका यहाँका स्थानीयवासी विद्युत विस्तारपछि खुशी भएको जानकारी दिनुभयो । “सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानले तीव्रता पाउँदैछ, बिजुली विस्तार पनि त्यसकै एउटा पक्ष हो,” उहाँले भन्नुभयो, “जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँ गाउँमा बिजुली विस्तारले तीव्रता पाएको छ ।”

    अत्रौलीमा एक सय ४० घर रहेपनि एक सय घरमा बिजुली बलेको र बाँकी घरमा पनि केही दिनभित्रै बत्ती बल्ने घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभयो । “बत्ती बल्न बाँकी रहेका घरहरुमा मिटर जडानको काम भइरहेको छ, केही दिनमै बाँकी घरमा पनि बत्ती बल्छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार एक हप्ताको अवधिमा दुई सय घरमा बिजुली विस्तार भइसकेको छ । यस अगाडी घिरिङ गाउँपालिका–२ काठेकोटका ४२ र माहोरकोटको ५९ घरमा बिजुली विस्तार गरिएको थियो ।

    थापाले साविक गजरकोट गाउँ विकास समितिको नेवार हटिया, कटहरे, हात्तीडाँडा, भन्टार, गड्यौली, नयाँटार, जगौली लगायतका ठाउँमा पनि बत्ती बाल्ने तयारी भइरहेको जानकारी दिनुभयो । गाउँपालिकामा अब ८÷९ सय घरमा मात्रै बत्ती बल्न बाँकी रहेको र कात्तिकसम्ममा सबै घर उज्ज्यालो बनाइने थापाले जानकारी दिनुभयो ।

    घिरिङ गाउँपालिकाले यहाँका ग्रामीण बस्तीमा धमाधम विद्युत विस्तार कार्यलाई तीव्रता दिइरहेको गाउँपालिकाका अध्यक्ष रनबहादुर थापाले जानकारी दिनुभयो । रानाले ‘उज्ज्यालो घिरिङ’ अभियान सम्पन्न हुने क्रममा रहेको बताउनुभयो ।

    गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सबै घरधुरीमा बत्ती पु¥याउने प्रतिबद्धता लगभग सकिने क्रममा रहेको उहाँको भनाई छ । विद्युतीकरण अभियानमा तनहुँ जलविद्युत आयोजना, नेपाल विद्युत प्राधिकरणले पनि सहयोग पु¥याएको उहाँले बताउनुभयो । बत्ती बल्न बाँकी रहेका घरधुरीमा पनि असोज कात्तिकभित्रै बत्ती बल्ने रानाले बताउनुभयो । “आवश्यक ट्रान्सफर्मर ल्याइसकेका छौ, पोलहरु गाड्ने, तार तान्ने लगायतका कामहरु चलिरहेको छ,” उहाँले भन्नुभयो ।