के छन् पशु सेवा र कृषि ज्ञान केन्द्रका वार्षिक कार्यक्रम ? (विस्तृत विवरण सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    के छन् पशु सेवा र कृषि ज्ञान केन्द्रका वार्षिक कार्यक्रम ? (विस्तृत विवरण सहित)

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०७७, आईतवार

    तनहुँ : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र तनहुँले चालु आर्थिक वर्ष ०७७/७८ मा कृषक लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएका छन् । तनहुँ र नवलपुर कार्यक्षेत्र रहेका दुई कार्यालयले चालु आर्थिक वर्षमा कृषक लक्षित रु ३३ करोड बजेट बराबरका कार्यक्रम सञ्चालन गर्न लागेका हुन् ।

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु १२ करोड भन्दा बढीका कार्यक्रम सञ्चालन गर्दैछ । पशुपालक कृषकलाई अनुदान, पशु स्वास्थ्य सेवा कार्यक्रम, पशु प्रजनन् लगायतका कार्यक्रम सञ्चालन हुने प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पशु स्वास्थ्य सेवा कार्यक्रमका लागि रु एक करोड ३९ लाख ९० हजार, पशु प्रजनन् तथा नश्ल सुधार कार्यक्रम रु १२ लाख ८० हजार, पशु आनुवांशिक स्रोत संरक्षण, सम्बद्र्धन तथा उपयोग कार्यक्रमका लागि रु १५ लाख ६० हजार, पशु आहार विकास कार्यक्रमका लागि रु २७ लाख, पशुपंक्षी तथा मत्स्य व्यवसाय प्रबद्र्धन कार्यक्रमका लागि रु चार करोड ३३ लाख ९० हजार, पशुपंक्षी तथा पकेट क्षेत्र विकास कार्यक्रमका लागि रु एक करोड २३ लाख, मत्स्य विकास कार्यक्रमका लागि रु ३८ लाख, क्षमता अभिवृद्धि विकास कार्यक्रमका लागि रु २१ लाख, पशुपंक्षी बजार प्रबद्र्धन कार्यक्रमका लागिरु ६५ लाख १५ हजार र सुशासन तथा पारदर्शीता प्रबद्र्धन कार्यक्रमका लागि रु १२ लाख १० हजार बराबरका कार्यक्रम सञ्चालन हुनेछन् ।

    कार्यालयले कृषकलाई उन्नत राँगो साढे खरिद, प्रजनन् बोका खरिद, पाडापाडी हुर्काउन अनुदान, उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम, साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, पशुपंक्षी बीमा सुरक्षा प्रिमियममा २५ प्रतिशत अनुदान लगायतका कार्यक्रममा सहयोग गर्ने डा. श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै माछापोखरी निर्माणमा सहयोग, भुरा खरिद, पोखरी मर्मत, डेरी माछा माछु पसल सुधार, दुग्ध चिस्यान सङ्कलन केन्द्र लगायतमा पनि कृषकलाई सहयोग गरिनेछ ।

    पुँजीगततर्फ कार्यालयले रु दुई करोड २६ लाख बजेट प्राप्त भएको छ । उक्त बजेटबाट मोडल भेटेरीनरी अस्पताल निर्माण, पैयोगशाला तथा डिस्पेन्सरीका लागि उपकरण खरिद गर्ने योजना छ ।

    कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु २१ करोड भन्दा बढीको कार्यक्रम सञ्चालन गर्दैछ । केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षका लागि कार्यालयलाई रु २१ करोड ८६ लाख २० हजार बजेट प्राप्त भएको छ ।

    उक्त बजेटबाट बालीको बीमा शुल्कमा २५ प्रतिशत अनुदान, आलु खेती प्रबद्र्धन कार्यक्रम, कृषक वर्गीकरण र परिचयपत्र वितरण, मकै, भटमास र चैते धान विस्तार प्रबद्र्धन, बाँझो जग्गामा व्यावसायिक खेती प्रोत्साहन, घरघरमा प्राङ्गारिक मल उत्पादन सहयोग, फलफूल, तरकारी तथा नगदेबाली विरुवा नर्सरी स्थापना, स्थानीय कृषि उपज विक्री केन्द्र स्थापना, आधुनिक कृषि यन्त्र उपकरण खरिद लगायतमा सहयोग गरिने तिवारीले जानकारी दिनुभयो ।

    त्यस्तै एकल फार्मका लागि खुल्ला जमिनमा प्राङ्गारिक उत्पादन, प्राङ्गारिक उत्पादनका लागि प्लाष्टिक घर निर्माण, समूह वा सहकारीका लागि खुल्ला जमिनमा प्राङ्गारिक उत्पादन पुराना व्यावसायिक कृषि विकास उत्पादन केन्द्र कार्यक्रमका लागि सहयोग गरिनेछ ।