तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले किसान नेता गौरवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आइतबार शोक वक्तव्य प्रकाशित गर्दै वरिष्ठ नेता पौडेलले रेग्मीको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।
तनहुँको म्याग्दे गाउँपालिका–७ निवासी रेग्मी नेपाल किसान सङ्घ तनहुँको सभापति र नेपाली काङ्ग्रेसका पूर्व कोषाध्यक्ष हुनुहुन्थ्यो ।
वरिष्ठ नेता पौडेलले समाजवादी नेताको निधनले तनहुँले प्रखर योद्धा गुमाएको बताउनुभयो । रेग्मीको अनुपस्थिति तनहुँ काङ्ग्रेसलाई सँधै खड्किरहने उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “हिजोका कठोर दिनहरुमा कत्ति पनि विचलित नभई अनवरत रुपमा समाज रूपान्तरणमा लाग्नु भएका रेग्मीको निधनले स्तब्ध तुल्याएको छ ।”
वरिष्ठ नेता पौडेलले दुःखको घडीमा मृतआत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।