घिमिरेलाई एक लाखको समाजसेवा पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    घिमिरेलाई एक लाखको समाजसेवा पुरस्कार

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७७, सोमबार

    पोखरा: विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार यस वर्ष महिला बेचबिखन बिरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरेलाई प्रदान गरिने भएको छ । समितिले प्रत्येक २ वर्षमा प्रदान गर्ने १ लाख १ हजार रुपैयाँ राशीको पुरस्कार यस वर्ष घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको हो ।


    महिला बेचबिखन बिरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा विगत ४ दशकदेखि घिमिरेको योगदानको कदर गर्दै पुरस्कार दिने निर्णय भएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । यो पुरस्कार नेपालमा धर्म, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ ।


    प्रथम पटक २०७३ सालमा वरिष्ठ संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोसी, दोस्रो पटक २०७५ मा गलेश्वर पीठाधीश स्वामी आत्मानन्द गिरीजी महाराजले यो पुरस्कार पाउनुभएको थियो । पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेमवहादुर प्रधानवाट संस्थापित तथा समितिवाट संञ्चालित छ । पुरस्कारको अक्षयकोष १५ लाख रुपैयाँको छ ।


    समितिका कार्यवाहक अध्यक्ष पवित्रराज रेग्मीको संयोजकत्वमा वरिष्ठ साहित्यकार सरुभक्त, पूर्व प्रशासक बाबुराम आचार्य, संस्थापक प्रतिनिधि रविन्द्र प्रधान तथा समितिका सचिव तीर्थ श्रेष्ठ सदस्य रहेको समितिले महिला शसक्तिकरणको क्षेत्रमा निरन्तर क्रियाशील घिमिरेलाई यस वर्षको पुरस्कार दिने निर्णय गरेको हो ।


    ‘घिमिरेले महिला बेचबिखन तथा शसक्तिकरणको क्षेत्रमा लामो समयदेखि योगदान दिनुभएको छ । उहाँको योगदानको कदर र महिला शसक्तिकरणका क्षेत्रमा अरुलाई पनि लाग्न अभिप्रेरित गर्न यस वर्षको पुरस्कार घिमिरेलाई दिने निर्णय भएको छ,’ समितिका सचिव तीर्थले भन्नुभयो, ‘कोभिडका कारण प्रदान गर्ने मिति तलमाथि भएको छ । पुरस्कार प्रदान गरिने मिति पछि तय गरिने छ ।’


    २००५ साल बैशाख ३ गते सुनसरीको धरानमा जन्मिनुभएकी दुर्गा घिमिरेले त्रिभुवन विश्वविद्यालयवाट सन् १९७० मा अर्थ शास्त्रमा एम.ए. र १९७५ मा त्रिभुवन विश्वविद्यालयवाटै कानुनमा स्नातक गर्नुभएको छ । २०३३ सालदेखि सामाजिक सेवा र महिला अधिकारको क्षेत्रमा उहॉ क्रियाशील हुनुहुन्छ । मानव अधिकार, चेलिवेटी बेचबिखनको विरुद्धको अभियानमा सबैभन्दा पहिला राष्ट्रिय रुपमा वहसको विषय वनाई उठान गर्ने पहिलो व्यक्तिका रुपमा घिमिरेलाई हेरिन्छ । २०४४ सालमा एबिसी. नेपाल नामक गैरसरकारी संंस्थाको स्थापना गरी महिला बेचबिखन बिरुद्ध लाग्नुभएको थियो । घिमिरेले हालसम्म ३ हजार चेलीहरुको उद्धार तथा समाजमा पुनस्थापना गरी उनिहरुको जीवनलाइ रुपान्तरण गर्न सफल हुनुभएको छ ।


    महिला उत्थान लगायतका क्षेत्रमा उल्लेखनीय काम गरे वापत घिमिरेले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरष्कार प्राप्त गर्नुभएको छ । उहॉले अधिकार क्षेत्रमा विभिन्न माध्यमबाट कलम पनि चलाउँदै आउनुभएको छ ।