पाेखरा : गण्डकी प्रदेशमा आइतबार थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार ६ जिल्लामा ४३ जनालाई सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार तनहुँमा ९, लमजुङमा पाँच, नवलपुरमा २६, गोरखामा एक, स्याङ्जामा एक र बागलुङमा एक जना सङ्क्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ५९ पुगेको छ ।
एक सङ्क्रमितको मृत्यु
गण्डकी प्रदेशमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको विनयत्रिवेणी गाउँपालिका–२ दुम्कीबासका ३६ वर्षीय पुरुष रहेका छन् । भरतपुर अस्पतालको आइसियुमा उपचाररत उहाँको शनिबार मृत्यु भएको हो ।
उहाँलाई असोज १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । लामो समयदेखि मुटु र कलेजो पीडित उहाँ शनिबार नै अस्पताल भर्ना हुनुभएको थियो । योसँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ ।