प्रदेश ५ सभामा रमिता : सांसदद्वारा कुर्सी तोडफोडदेखि ‘घिसारेर निकालिहाल’सम्म !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश ५

    प्रदेश ५ सभामा रमिता : सांसदद्वारा कुर्सी तोडफोडदेखि ‘घिसारेर निकालिहाल’सम्म !

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०७७, सोमबार

    बुटवल : प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्तावको विषयलाई लिएर प्रदेश सभामा दिनभर अनेकथरि रमिता देखिएका छन् । प्रदेश सरकारले शुक्रवार सभामा पेश गरेको प्रदेशको राजधानी दाङको देउखुरी तोक्ने प्रस्तावमाथि सोमवार सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो । 

    मध्याह्न १२ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक नेकपा संसदीय दलको बैठकका कारण केही समय ढिला भयो । प्रदेश सभाको बैठक शुरू हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उठेर विरोध जनाए । 

    त्यसपछि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले देश कोरोना महामारीमा रहेको समयमा अहिले प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव ल्याउनुको औचित्यबारे प्रश्न गर्नुभयाे । कनौडिया बोलेपछि कांग्रेस सांसदहरूले नाराबाजी शुरू गरे । सभामुख पूर्णबहादुर घर्तीले नाडीको घडी हेरेर २ बजेका लागि बैठक स्थगित गर्नुभयाे ।

    कुर्सी र माइक तोडफोड

    निर्धारित समयभन्दा झण्डै डेढ घण्टा ढिलो प्रदेश सभाको बैठक शुरू भयो । बैठकको शुरूमै कांग्रेस सांसदहरू नाराबाजीमा उत्रिए ।  कांग्रेस सांसदको नाराबाजीका बीच सभामुख घर्तीले प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई प्रदेशको राजधानीसम्बन्धी आन्तरिक कार्यविधिमाथि छलफल शुरू गर्ने प्रस्ताव पेश गर्न आदेश दिनुभयाे ।

    मन्त्री केसीले रोस्ट्रमबाट प्रस्ताव पेश गरेर फर्किन नपाउँदै कांग्रेस सांसदहरूले संसद्का कुर्सी र माइकमाथि प्रहार गर्न थाले ।  संसदीय मर्यादा र विधिको शासनको कुरा गरेका सांसदहरूले कुर्सी तोडफोड गर्न थालेपछि मर्यादापालकलाई स्थिति नियन्त्रण गर्न हम्मेहम्मे पर्‍यो । कांग्रेस सांसदले कुर्सी तोडफोड गर्न थालेपछि मन्त्रीहरू बैठक कक्षबाट बाहिरिए । 

    कांग्रेस सांसदले कुर्सी र माइक भाँचेको विषयलाई लिएर अहिले सामाजिक सञ्जाल रंगिएको छ । ​

    रोस्ट्रमबाट मन्त्रीको निर्देशन– घिसारेर निकालिहाल !

    कांग्रेस सांसदले कुर्सी भाँचेपछि मर्यादापालकले कुर्सी र सोफाका चकटीले सभामुखलाई सुरक्षा दिए ।  केही सांसद बोलेपछि सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको घोषणा गरे । सभामुखले छलफल सकिएको घोषणा गर्दा पनि सांसदहरूले हात उठाएर समय माग गरिरहेका थिए । 

    त्यसपछि सभामुख घर्तीले प्रस्तावमाथि संशोधन राख्नका लागि १८ घण्टाको समय तोक्दै छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिनुभयाे । मन्त्री रोस्ट्रममा गएर बोल्न थालेपछि एकजना मर्यादापालक रोस्ट्रमको अगाडि आएर सोफाको खोल हातमा समातेर सुरक्षा दिएका थिए । 

    मन्त्री आफैँले रोस्ट्रमबाट बाहिर आएर मर्यादापालकलाई हातले समाएर परपट्टि धकेले । ‘समातेर हाल, घिसारेर निकालिहाल’ भनेर निर्देशन दिनुभयाे । मन्त्री केसीले बोलेको आवाज माइकमा प्रस्ट सुनिएको थियो ।  कांग्रेसको विरोधप्रति कटाक्ष गर्दै मन्त्री केसीले विरोधको शैली हेर्ने हो भने बीपीले समेत लाज मान्ने टिप्पणी गर्नुभयाे ।

    कुर्सीका चकटीले छेकेर सभा सञ्चालन 

    प्रदेशको राजधानी सार्ने प्रस्तावमाथि छलफलका क्रममा तनाव भएपछि प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीलाई मर्यादापालकले सुरक्षा घेरामा राखेर बैठक सञ्चालन भयो ।  सहमति बेगर सरकारले संसद्मा जबरजस्ती राजधानीसम्बन्धी प्रस्ताव ल्याएको भन्दै कांग्रेस सांसदले संसदको कुर्सी र माइक भाँचेका थिए । 

    सांसदहरूले कुर्सी र माइक भाँच्न थालेपछि सभामुख घर्तीलाई मर्यादापालकले सुरक्षा दिएका थिए । मर्यादापालकले सोफा र कुर्सीका चकटी समातेर सुरक्षा दिएका थिए ।  कांग्रेसको नाराबाजीका बावजुद प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले राजधानी दाङ तोक्ने प्रस्तावमाथि छलफल गर्न प्रस्ताव पेश गर्नुभएकाे थियाे ।

    सांसदको चेतावनी ‘गलत निर्णय गरेमा भविष्यमा उल्टिन्छ’

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच चलेको प्रदेश सभा बैठकमा राजधानी र नामांकनसम्बन्धी प्रस्तावमा सांसदहरूले धारणा राखे । राप्तीतिरका सांसदले प्रस्तावको समर्थन गरे भने केहीले विरोध गरे ।  सत्तारुढ नेकपाका भोजप्रसाद श्रेष्ठले राजधानी सार्नेजस्तो दूरगामी निर्णय गर्नेबेला बोल्नका लागि पर्याप्त समय नदिइएको आरोप लगाउनुभयाे । ‘केको आधार र मापदण्डमा त्यो निर्णय गरियो ? हामीले जान्न पाउनुपर्छ,’ श्रेष्ठले भन्नुभयाे । बोल्नका लागि मात्र ५ मिनेटको समय दिएको भन्दै उहाँले पर्याप्त बोल्न पाउनुपर्ने भन्दै सभामा उभिएर विरोध गर्नुभएकाे थियाे ।

    (लाेकान्तर डटकमबाट)