पाेखरा : गण्डकी प्रदेशमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गोरखा र नवलपुरका दुई महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गोरखाको सुलीकोट गाउँपालिका–६ निवासी ४५ वर्षीया महिलाको काठमाडौस्थित बयोधा अस्पतालमा असोज १५ गते निधन भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । ती महिलामा मिर्गौलाको समस्या रहेको थियो ।
त्यस्तै नवलपुरको कावासोती नगरपालिका–५ निवासी ७७ वर्षीया महिलाका चितवन मेडिकल कलेजमा मङ्गलबार निधन भएको छ । पिसाब तथा श्वासप्रश्वास सम्बन्धी उपचारका लागि असोज १६ गते अस्पताल भर्ना हुनुभएकी उहाँमा असोज १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।