तनहुँ : तनहुँको दमौली अस्पतालका चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङबाट गरिएको परीक्षण अनुसार २७ वर्षीय चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
दमौली अस्पतालका मेसु सुनिल पौडेल र कार्यालय सहयोगीलाई कोरोना देखिएपछि अस्पतालका थप चिकित्सकको स्वाब परीक्षण गरिएको थियो । मङ्गलबार मात्रै पौडेलका सवारी चालकलाई पनि कोरोना पुष्टि भएको थियो ।
भीमादमा थप दुई सङ्क्रमित
भीमाद नगरपालिकामा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको विवरण अनुसार भीमाद नगरपालिका-६ का ५२, ५२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भीमादमा मङ्गलबार मात्रै सोही वडामा चार जनामा कोरोना पुष्टि भएको थियो । समुदायस्तरमा कोरोना जोखिम बढेपछि नगरपालिका अनिश्चितकालका लागि बन्द गरिएको छ ।