तनहुँ : जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा सजाय पाएका तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दाका दुई र कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
सवारी ज्यान मुद्दामा स्याङ्जाको आधीखोला गाउँपालिका–२ स्थायी घर भई तनहुँको भानु नगरपालिका–१ पुल्चोक बस्ने अविनास बस्याल डेढ वर्षपछि पक्राउ परेका छन् । बस्याललाई जिल्ला अदालत तनहुँले विसं २०७५ फागुन २८ गते ७ महिना कैद सजाय तोकेको थियो ।
सवारी ज्यान मुद्दामै फरार रहेका बन्दीपुर गाउँपालिका–१ रिमाल्नी बस्ने सुजन खड्गी पक्राउ परेका छन् । खड्गीलाई जिल्ला अदालत तनहुँले विसं २०७५ फागुन २८ गते रु दुई हजार जरीवानाको फैसला गरेको थियो । कर्तव्य ज्यान मुद्दामा भानु नगरपालिका–४ बस्ने बेदबहादुर कंडेल पक्राउ परेका छन् । निजलाई जिल्ला अदालतले २०७३ असोज १० गते रु पाँच सय जरीवानाको फैसला गरेको थियो । फरार तीन जनालाई नै सम्बन्धित घरवतनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएको छ ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी भएका व्यक्तिहरुको खोजीका लागि प्रहरीले अभियान सञ्चालन गरिरहेको छ ।