तनहुँ : गत असार र त्यसपछि परेको अविरल वर्षाले घर भत्किएका पीडित परिवारलाई तनहुँको घिरिङ गाउँपालिकाको राहत रकम प्रदान गरेको छ । गाउँपालिकाले पीडित परिवारको घरमै पुगी राहत रकम प्रदान गरेको हो । गाउँपालिकाले छ परिवारलाई राहत स्वरुप रु तीन लाख हस्तान्तरण गरेको छ ।
घिरिङ गाउँपालिका–३ पोखरीडाँडाका एक, वडा नं ४ छाब्दीका एक र वडा नं ५ लङ्कापतीथर र किटियाका चार परिवारलाई गाउँपालिकाले राहत स्वरुप रु ५० हजारका दरले रकम उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो । विपद्बबाट परेको पीडामा मलम लगाउने उद्देश्यले गाउँपालिकाले राहत स्वरुप रकम उपलब्ध गराएको रानाले बताउनुभयो ।
गाउँपालिकाले लोक गायक र गायिका घिरिङ गाउँपालिका–५ च्याचल निवासी कृष्णप्रसाद गौतम र वनडाँडा निवासी योमाया रानालाई प्रोत्साहन स्वरुप रु दश÷दश हजार सहयोग गरेको छ । वर्षाले घर भत्किएका आठ घरपरिवारलाई राहत दिने निर्णय भएकामा बाँकी घरलाई पनि छिट्टै रकम उपलब्ध गराइने गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।