तनहुँ : प्रतिनिधि सभा सदस्य केदार सिग्देलले निर्वाचनका बेलामा जनतासँग गरिएको प्रतिबद्धताका विषयमा छलफल गर्नुभएको छ । विकास निर्माणमा जनताको चासो सम्बोधन गर्नका लागि सांसद सिग्देलले विभिन्न स्थानमा पुगेर छलफल गर्नुभएको हो ।
जनतासँग भेटघाट गर्ने क्रममा सासंद सिग्देलले व्यास नगरपालिका–५ मा रहेको पराशर गुफा, पाटनको झोलुङ्गे पुल, पराशर आश्रम, पाटन खेलमैदानको अवलोकनका साथै पाटनमा जनतासँग छलफल गर्नुभएको छ । सासंद सिग्देलले चापाघाट–कण्टार खानेपानी संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुसँग विकास निर्माण र आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा सुझाव माग्नुभएको थियो ।
जनतासँगको भेटघाटमा सांसद सिग्देलले विकास निर्माणमा आफूले पक्षपात नगरी काम गरेको बताउनुभयो । लोकतन्त्रको सुन्दर पक्ष नै सबैको समान अस्तित्व र अधिकार भएको बताउँदै सिग्देलले जनताको समस्या समाधानका लागि सक्दो पहल गर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष बलभद्र खनालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले वकास निर्माणसँग सम्बन्धित रहेर धारणा राखेका थिए । सांसद सिग्देलले पतेनीको आमा समूह, उदय माध्यमिक विद्यालयको भवन निर्माणको अवलोकन समेत गर्नुभएको थियो ।