तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले उत्कृष्ट प्रहरीलाई पुरस्कृत गरेको छ । ६५ औं प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा आठ जना प्रहरीलाई पुरस्कृत गरिएको हो ।
कामको मूल्याङ्कनमा उत्कृष्ट भएको आधारमा प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार र प्रहरी जवानलाई पुरस्कृत गरिएको प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।
पुरस्कृत हुनेहरुमा प्रहरी निरीक्षक जगदीश रेग्मी, प्रहरी नायब निरीक्षक किसान केसी, प्रहरी नायब निरीक्षक रेशमबहादुर रानाभाट, प्रहरी सहायक निरीक्षक दिनेश पौडेल, प्रहरी हवल्दार चन्द्रबहादुर गुरुङ, प्रहरी हवल्दार घनश्याम चौधरी, प्रहरी हवल्दार पार्वती महत र प्रहरी जवान धनबहादुर गुरुङ रहनुभएको छ । उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी सागर आचार्य र प्रहरी उपरिक्षक पौडेलले पुरस्कृत गर्नुभएको छ ।
सोही अवसरमा घिरिङ प्रहरी चौकीलाई निःशुल्क दुई रोपनी जग्गा दान गर्ने घिरिङ गाउँपालिका–३ का मिनकुमार श्रेष्ठलाई पनि सम्मान गरिएको छ । प्रहरी दिवसको अवसरमा आयोजित व्याडमिन्टन प्रतियोगितामा विजयी खेलाडी पनि पुरस्कृत हुनुभएको छ । साथै प्रहरी सेवामा वीरगति प्राप्त गरेका अमर परिवारलाई पनि प्रमुख जिल्ला अधिकारी आचार्य र प्रहरी उपरिक्षक पौडेलले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले व्यवस्था र कानुन बदलिएसँगै प्रहरी पनि बदल्नुपर्नेमा जोड दिनुभयो । आचार्यले प्रहरीका लागि कानुन नै ठूलो हतियार भएकाले कानुनलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
प्रहरी उपरिक्षक पौडेलले समाजमा शान्ति सुरक्षा र अमनचयम कायम गर्ने, अपराध रोकथाम गर्ने काममा प्रहरी दत्तचित्त भएर लागिरहेको उल्लेख गर्नुभयो । जिल्लावासीको साथ र सहयोगले गर्दा प्रहरी कार्यालय गण्डकी प्रदेशमै उत्कृष्ट हुन सफल भएको प्रहरी उपरिक्षक पौडेलले जानकारी दिनुभयो ।