तनहुँ : तनहुँको व्यास नगरपालिका–३ निवासी डा. भोला श्रेष्ठले आमाको वार्षिक पुण्यतिथिको अवसरमा व्यास नगरपािलका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई नगद सहयोग गर्नुभएको छ । उहाँले आमा स्व. जुठीमाया श्रेष्ठको पुण्यतिथिको अवसरमा ज्येष्ठ नागरिक आश्रमलाई रु ३० हजार सहयोग गर्नुभएको हो ।
उक्त रकम डा. भोला र श्रीमती डा. इलिया श्रेष्ठले आश्रमकी सचिव निर्मला मल्ललाई शुक्रबार हस्तान्तरण गर्नुभएको छ । आश्रममा आश्रय लिइरहनुभएका ज्येष्ठ नागरिकको सहयोगका लागि उक्त रकम प्रदान गरेको डा. भोला श्रेष्ठले जानकारी दिनुभयो ।
आश्रमकी सचिव मल्लले सहयोगदाताप्रति आभार व्यक्त गर्दै व्यक्ति तथा सङ्घसंस्थाले गर्ने सहयोगले आश्रम सञ्चालनमा सहयोग पुगेको बताउनुभयो ।