बेलचौतारामा विद्युतको नोलाईट तथा महशुल काउण्टर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बेलचौतारामा विद्युतको नोलाईट तथा महशुल काउण्टर

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँ र नवलपुर जिल्लाका ग्राहकको सहजताका लागि नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रले खैरेनीटार सवस्टेशनमा नोलाईट तथा महशुल काउण्टर सञ्चालनमा ल्याएको छ । बेलचौतारास्थित खैरेनीटार सवस्टेशनसँगै निर्माण गरिएको भवनबाट आइतबार सेवा शुभारम्भ गरिएको हो । पहिलो सेवाग्राही जनकल्याण माध्यमिक विद्यालय बेलचौताराले विद्युतको महशुल बुझाएर सेवा शुभारम्भ गरिएको छ ।

    सेवा शुभारम्भको अवसरमा बोल्दै नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारीले वितरण केन्द्रले दिने सबै सेवा ग्राहकलाई उपलब्ध गराउने बताउनुभयो । उहाँका अनुसार हाल महशुल काउण्टर र नो लाईटको सेवा दिइएको छ । “नयाँ ग्राहक सेवा, मर्मतसम्भार, उजुरीको सेवा पनि थप हुनेछ,” उहाँले भन्नुभयो ।

    गास, बास, कपाससँगै वर्तमान समयमा बिजुली पनि आधारभूत आवश्यकतामा पर्न थालेकाले ग्राहकसँगको सहकार्यमा सेवा विस्तार र थप गर्दै लैजाने तिवारीको भनाई छ । पर्याप्त जग्गा भएकाले यस ठाउँमा प्रदेशस्तरको ट्रान्सफर्मर वर्कसप राख्ने योजना उहाँले सुनाउनुभयो ।

    शुक्लागण्डकी नगरपालिका–५ का अध्यक्ष दीर्घबहादुर थापाले सेवा विस्तारका लागि सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले सवस्टेशन सञ्चालनमा आएपछि पनि निरन्तर बत्ती जाने समस्या भएकाले सुधार गर्न सुझाव दिनुभयो ।

    प्राधिकरणले यहाँबाट सेवा दिन थालेपछि तनहुँ र नवलपुरका उपभोक्ताले पोखराको लेखनाथसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । “नयाँ मिटर लिनलाई दिन बिताएरै लेखनाथ जानु परेन । यतिबेला त झन् कोरोनाको डरले त्यहाँसम्म पुग्न पनि मुस्किल थियो,” खैरेनीटारका बुद्धिबहादुर थापाले भन्नुभयो, “अब धेरै सजिलो हुने भयो ।”

    तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाका करिब २५ हजार सेवाग्राहीले यहाँबाट सेवा पाउनेछन् । विभिन्न स्थानमा महशुल काउण्टर भएपनि नयाँ मिटर जडान, उजुरी लगायत सेवाका लागि भने लेखनाथ नै जानुपर्ने बाध्यता थियो ।

    उक्त स्थानमा गत वर्षको पुसदेखि ३३ केभी प्रसारण लाइन क्षमताको सवस्टेशन सञ्चालनमा आएको छ । प्रसारण लाइनको क्षमता बढेपछि उद्योग कलकारखाना सञ्चालनमा सघाउ पुगेपनि पूर्ण क्षमता नचल्दा बेला न कुबेला झ्याप्प–झ्याप्प लाइन जाने समस्याले भने उपभोक्ताले हैरानी खेप्नुपरेको छ ।